'शंकैशंका'मा विधेयकमाथि संसदीय समितिको छलफल टुंगियो

नेपाल लाइभ | २०७६ श्रावण २७ सोमबार | Monday, August 12, 2019 २०:०२:०० मा प्रकाशित

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा शुसासन समितिले राष्ट्रिय परिचयपत्रमा रहेका व्यक्तिको वैयक्तिक र जैविक विवरणको गोपनीयता कायम राख्ने सम्बन्धी ठोस व्यवस्था नगरी परिचयपत्र विधेयकमाथिको छलफल टुंगाएको छ।

सोमबार समितिको बैठकमा सदस्यहरुले राष्ट्रिय परिचयपत्रमा रहेका व्यक्तिको वैयक्तिक र जैविक विवरणको गोपनीयता कायम रहने भन्नेमा आश्वस्त हुन नसकिएकाले त्यसको सुनिश्चतता गरिनुपर्ने धारणा राखेका थिए। तर सदस्यहरुनै ढुक्क नबन्दै शंकैशंकामा समितिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सबन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफल सकाएको हो।

विद्युतीय तथ्याङ्क भण्डार व्यवस्थापन अन्र्तगत विधेयकको दफा ३५ को उपदफा २ मा व्यक्तिको वैयक्तिक गोपनीयता कायम रहने गरी सार्वजनिक संस्था तथा व्यवसायिक संस्थालाई तोकिए बमोजिमको दस्तुर लिई विभागमा रहेका तथ्याङ्क तथा विवरणलाई तोकिए बमोजिम उपयोग गर्न दिन सकिनेछ भन्ने उल्लेख छ। 

यो व्यवस्थाले संविधानले प्रत्याभुति गरेको व्यक्तिको गोपनीयकताको हक हनन हुने र बैयक्तिक विवरण सार्वजनिक पहुँचमा पुग्ने भन्दै समिति सदस्यहरुले आपत्ती जनाएका थिए। समिति सदस्य डिला संग्रौला पन्तले गोपनीयताको हक उंल्लघन हुने भएकाले सरकारी संस्था, सुरक्षा निकाय तथा निर्वाचन आयोगले हेर्न सक्ने व्यवस्था गरिएपनि सार्वजनिक र व्यवसायीक संस्थालाई व्यक्तिको विवरण हेर्ने पहुँच दिन नहुने तर्क गरिन्। त्यसैगरी फम्फा भुसालले आफ्नो विवरण को कसले हेर्यो भन्ने बारेको जानकारी व्यक्ति स्वयम्ले पाउन सक्ने व्यवस्था राख्नुपर्ने तर्क गरेकी थिइन्।

त्यसैगरी समिति सदस्य झपट बहादुर रावलले एउटा व्यक्तिको गोपनियताका विषय सम्बन्धीत को अनुमति विना उसका आफन्तलाई पनि दिन नमिल्ने अवस्थामा सम्पुर्ण विवरणमाथिको पहुँच सर्वसुलभ बनाउन नमिल्ने तर्क गरेका थिए। अर्का सदस्य दिलेन्द्र प्रसाद बडू र देवेन्द्र राज कँडेलले पनि अदालत, सुरक्षा निकाय र निर्वाचन आयोग बाहेक अन्य निकाय , संघ संस्था वा व्यक्तिले कसैको पनि व्यक्तिगत विवरण हेर्न नसक्ने व्यवस्था मिलाईनुपर्ने बताए।

नेपाली नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने, व्यक्तिका वैयत्तिक र जैविक विवरण तथा राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र प्रदान गरी एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरी सो प्रणालीलाई राज्यबाट उपलब्ध सेवा सुविधा र राष्ट्रिय विकास योजना एवम् सुरक्षा व्यवस्थासंग आवद्ध गर्ने तथा व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्नका लागि सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सबन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको हो। तर परिचयपत्रमा हुने व्यक्तिको सम्पुर्ण विवरणको गोपनीयता कायम रहन्छ कि रहदैन भन्नेमा आशंका उब्जिएको छ।

*फाइल तस्विर

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान