एमबिएस प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ

अजय शाह | २०७६ श्रावण २७ सोमबार | Monday, August 12, 2019 १८:५३:०० मा प्रकाशित

जनकपुर- प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरबाट ५ जनालाई पक्राउ गरेको छ।

त्रिभुवन विश्वविद्यालय वाणिज्य सङ्कायको एमबिएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट गरेको भन्दै उनीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका-१२ का लालबाबु मण्डल, सुजितकुमार मण्डल, सोनुकुमार साह, जनकपुर-४ का लिलाराज शिववर्ती र सर्लाही ईश्वरपुर नगरपालिका-७ का अविनाश महतो रहेको प्रहरीले जनाएको छ।

जनकपुरस्थित राराब क्याम्पसमा प्रश्नपत्र आउट गरेर परीक्षा हलसम्म चिट पुर्याई रहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पाँचै जनालाई प्रश्नपत्र आउट गरिरहेकै अवस्थामा पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। पक्राउ परेकामध्ये लालबाबु र सुजित फाटोकपी पसले रहेको र अन्य तीन जना परीक्षा हलसम्म चिट पुर्याउने काम गर्ने रहेको उनले बताएका छन्।

‘परीक्षा सुरु भइसकेपछि सोनु, लिलाराज र अविनाशले फेसबुक मेसेन्जरका माध्यमबाट प्रश्नपत्र मगाएको रहेछ,’ एसपी खनालले भने, ‘क्याम्पस नजिकै रहेको मण्डलद्वयको फोटोकपी पसलमा उत्तर तयार पारेर पुनः परीक्षा हलभित्र पुर्याउने काम भएको रहेछ। हामीले जानकारी पाउनसाथ उनीहरुलाई रङ्गेहात पक्राउ गर्न सफल भयौँ।’

पक्राउ परेकाहरु आफैं परीक्षार्थी नरहे पनि प्रश्नपत्र आउट गरेर चिट बिक्री गर्ने कार्य गर्दै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खनालको भनाइ छ। पाँचै जनाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको उनले बताए।