काठमाडौं- नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण सञ्चालन गर्ने भएको छ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ३१ देखि भदौ ६ सम्म पहिलो चरणमा ३ प्रदेशमा महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण दिन लागेको हो।
गण्डकी प्रदेशका लागि पोखरामा साउन ३१ र ३२ गते, प्रदेश ५ का लागि भदौ २ र ३ मा रुपन्देहीको भैरहवामा प्रशिक्षण हुनेछ। भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगरमा पहिलो चरणको अन्तिम प्रशिक्षण कर्णाली प्रदेशस्तरीय सञ्चालन गरिने कांग्रेसले जनाएको छ।
कांग्रेसको सांगठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण लगायतका प्रतिनिधिहरुलाई कक्षा दिइनेछ। साथै, नेपाल कम्युनिस्ट पार्टीको सरकारको मूल्यांकन, जनतासँग सम्पर्क र संवाद जस्ता विषय पनि प्रशिक्षमा समेटिनेछ।
प्रशिक्षणको लक्ष्य पार्टी सदस्यहरुलाई जनतासँग आत्मीय सम्पर्क राख्ने रहेको पार्टीले जनाएको छ।
शेरबहादुर देउवाबाट उद्घाटन हुने प्रशिक्षणमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरु सहभागिता हुनेछन्। प्रशिक्षणमा सहभागी कार्यकर्ताले यातायात तथा आवासको व्यवस्था स्वयंले गर्नुपर्ने पार्टीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।