काठमाडौं -एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर शेर बहादुर देउवा सरकारले गरेका निर्णयहरु नयाँ सरकारले पुर्नविचार गर्ने बताउदै त्यस्ता निर्णय नगर्न चेतावनी दिएको केही घन्टामा सरकारले विभिन्न नियुक्ति र सरुवा गरेको छ।
बिहिबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले एक दर्जन निर्णय गरेको हो। सरकारले सहिदघोषणादेखि सचिव सरुवासम्मको निर्णय गरेको हो।
पर्यटक मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हटाएर कृष्ण देवकोटालाई ल्याइएको छ। त्यस्तै परिवार नियोजन संघलाई बिघठन गरी छत्र बहादुर गिरीलाई अध्यक्षमा नियुक्त गरिएको छ।
सातै वटा प्रदेशमा प्रदर्शनी स्थल स्थापना गर्ने तथा अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडीलाई आजिवन भत्ता दिने निर्णय भएको छ। त्यस्तै सशस्त्र प्रहरीमा एआईजी बढुवा तथा नेपाल प्रहरीमा समेत केही दरबन्दी थप्ने निर्णय भएको स्रोत बताउँछ।
अहिलेको सरकार कामचलाउ भएकाले प्रशासनिक बाहेक अन्य निर्णय नगर्न वाम गठबन्धनका नेताहरुले चेतावनी दिइरहदा सरकारले थप निर्णयहरु गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।