सिंहदरबार वृतबाट फरार ४ थुनुवामध्ये ३ पक्राउ, ३ प्रहरी निलम्बित

नेपाल लाइभ | २०७६ श्रावण २७ सोमबार | Monday, August 12, 2019 १३:०७:०० मा प्रकाशित

काठमाडौं– महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा रहेका फरार ४ थुनुवामध्ये ३ जना पक्राउ परेका छन्।

गत शनिबार फरार भएका चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा र सुकलाल वाइबा पक्राउ गरेका हुन्। उनीहरुमध्ये थापा र लामालाई प्रहरीले फरार भएलगत्तै कालिकास्थानबाट पक्राउ गरेको थियो। वाइबालाई प्रहरीले सोमबार बिहान जोरपाटी दक्षिण ढोकाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

फरार मदन तामाङ भने अझै पक्राउ पर्न सकेका छैनन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरु मोटरसाइकल चोरी काण्डमा पक्राउ परेका थिए।

उनीहरु हिरासतको झ्यालको ग्रिल ह्याक्सो ब्लेडले काटेर फरार भएका थिए। उनीहरुलाई ग्रिल काट्ने ह्याक्सो ब्लेड दिने करण मोक्तानलाई पनि प्रहरीले पक्राउ गरेको छ। मोक्तान पनि लागुऔषध मुद्दामा ६ वर्ष जेल बसेर छुटेको व्यक्ति भएको डिएसपी बोगटीले बताए। पक्राउ परेका वाइबा पनि चोरी केसमा पटक-पटक पक्राउ परेका व्यक्ति भएको पाइएको छ।

हिरासतबाटै थुनुवा फरार भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले एसपी अशोक सिंहको नेतृत्वमा एक छानबिन समितिसमेत गठन गरेको छ।

समितिले थुनुवा फरार भएका बेला ड्युटीमा रहेका भनिएका असई तथा ड्युटी अफिसर भीमबहादुर थापा, ड्युटीमा रहेका हवलदार बोधबहादुर माझी र चन्द्रबहादुर विकलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ।

यसअघि असार २३ गते राति महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमल्सिना थुनुवा फरार भएका थिए।