काठमाडौं– लामो विवाद झेलेको बलिउड फिल्म पद्मावतले आजबाट भारतसँगै नेपालमा पनि सोलो रिलिजको मौका पाएको छ।
पद्मावतले भारतका ७ हजारभन्दा बढी हलका साथै नेपालका अधिकांश मल्टिप्लेक्स तथा ६० बढी सिंगल हलमा प्रदर्शनको मौका पाएको हो।
यसैले पुष्टि गर्छ, नेपालमा नेपाली फिल्मको बजार र दर्शकहरुको माग कस्तो छ!
हुन त नेपालमा बलिउड फिल्मले सोलो रिलिजको मौका पाउनु नयाँ घटना होइन। बलिउडमा जमेका 'तीन खान'का जति पनि फिल्म रिलिज हुन्छन्, प्राय: सबै नेपाली पर्दामा हाबी हुँदै आएका छन्।
कतिपय अवस्थामा ४ देखि ५ वटा फिल्मको रिलिज भार खेप्न सक्ने नेपाली फिल्म बजार बलिउड फिल्मको इन्ट्रीमा भने प्राय: शून्य रहन्छ। जब बलिउड फिल्मको प्रदर्शन मिति तय हुन्छ, यहाँका निर्माता आफ्नो फिल्मको पूर्वनिर्धारित रिलिज मिति सार्नसमेत तयार हुन्छन्। यसैको उदाहरण हो, 'फिल्म ह्याप्पी डेज'। भोलि शुक्रबारका लागि प्रदर्शन घोषणा गरिए पनि पद्मावत भित्रिएपछि निर्माण पक्षले उक्त फिल्मको मिति सारेको छ। जसले गर्दा पनि पद्मावतलाई सोलो रिलिजका लागि थप मौका मिल्यो।
बलिउडले यहाँका हलमा कब्जा जमाउँदा नेपाली फिल्मले स्थान पाउँदैनन्। त्यतिमात्र होइन नेपाली फिल्मको प्रवर्द्धनका विषयमा बेलाबेला चोटिला गफ दिने निर्माता/निर्देशक बलिउड फिल्म भित्रिँदा मौनप्राय देखिने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।