जनकपुर- प्रदेश २ को नामाकरण र राजधानी तोक्न प्रस्ताव दर्ता गराउन प्रदेशसभामा सचिवालयले आइतबार सूचना जारी गरेको छ।
अगामी भदौ ५ गते साँझ ५ बजेभित्र सचिवालयमा प्रस्ताव दर्ता गराउन सचिवालयले सूचना जारी गरेको हो।
प्रदेशसभा कार्य सञ्चालनसम्बन्धी पहिलोे पटक संशोधन भएको नियमावलीको व्यवस्थाअनुसार सभामुख यादवले प्रदेशको नामाकरण र राजधानीसम्बन्धी प्रस्ताव दर्ताको सूचना आइतबार निकालेका प्रदेश २ संसद् सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।
शनिवार सर्वदलीय बैठक बोलाएर सभामुख सरोज यादवले प्रदेशको नाम र राजधानीको प्रस्तावका लागि सूचना निकाल्ने निर्णय गराएका थिए।
एकजना प्रस्तावक र दुई समर्थकसहित नामाकरण र राजधानीको प्रस्ताव प्रदेशसभा सदस्यले दर्ता गराउन सक्नेछन्। प्रस्ताव दर्ता गर्न २६ साउनदेखि ५ भदौसम्मको म्याद तोकिएको छ।
प्रस्ताव दर्तापछि ६ भदौमा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र दर्ता भएका प्रस्तावमा छलफल गर्न सांसदहरु सम्मिलित एक समिति बनाइनेछ। समितिलाई एक महिनाको समय दिएर आएको नामाकरण र राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेस हुनेछ।
दुई तिहाइ बहुमतबाट पारित हुने प्रस्ताव अनुसार नामाकरण र राजधानी तोकिने प्रावधान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।