महिलाको हत्या गरेको आरोपमा महोत्तरीमा २ जना समातिए

नेपाल लाइभ | २०७६ श्रावण २७ सोमबार | Monday, August 12, 2019 ०६:४७:०० मा प्रकाशित

जनकपुर- करिब दुई महिनाअघि एक महिलाको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

गौशाला नगरपालिका-१०, भरतपुर माइतमा बस्दै आएकी अन्जु कुमारी श्रेष्ठको गत असार ५ गते मध्यरातमा छुरा प्रहार गरी हत्या भएको थियो। श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा गौशाला नगरपालिका-८ निवासी राजकिशोर गिरी र सोही नगरपालिका-२ का दशै ठाकुर छन्।

गौशालास्थित निर्धन उत्थान विकास बैंकमा कार्यरत श्रेष्ठको हत्या गरी मोबाइलसमेत चोरेर लगिएको थियो। सो मोबाइल गिरीको घरबाट बरामद गरिएको छ। तर, गिरीले उक्त मोबाइल आफूले ठाकुरसँग किनेको बताएपछि प्रहरीले ठाकुरलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो।

दुवै आरोपीको घटनामा संलग्नता हुन सक्ने भएकाले अनुसन्धानबाट सबै सत्य बाहिर आउने इलाका प्रहरी कार्यालय महोत्तरीका इन्चार्ज प्रहरी निरीक्षक किशोर आचार्यले बताए।

यस्तै, जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आइतबार पत्रकार सम्मेलन गरी एसपी श्यामकृष्ण अधिकारीले आरोपीको साथबाट मोबाइल तथा एक थान चक्कु बरामद भएको जानकारी दिए। चक्कुलाई पोष्टमार्टम रिपोर्टसँगै ल्याबमा पठाउने बताए।

असार ५ गते मध्यरात अन्जु चिच्याएको आवाजपछि स्थानीय उनको घरमा पुगेका थिए। घरभित्र घाइते अवस्थामा छट्पटाइरहेकी उनलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको थियो।

श्रीमानले अर्को बिहे गरेपछि उनी लामो समयदेखि माइतमै बस्दै आएकी थिइन्।