जेल बस्दा पनि छुटेन कल बाइपास धन्दा, पक्राउ परे नसिब

नेपाल लाइभ | २०७६ श्रावण २६ आइतबार | Sunday, August 11, 2019 १७:५०:०० मा प्रकाशित

काठमाडौं- अवैध रुपमा अन्तराष्ट्रिय कल बाइपास गर्ने ठाउँमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले छापा मारेर उपकरणसहित एक जनालाई पक्राउ गरेको छ । 

ब्युरोको टोलीले काठमाडौं बालुवाटरबाट कल बाइपास गरेको आरोपमा बिहीबार चितवनको भरतपुर नगरपालिका–१८ का ३६ वर्षीय नसिव तामाङलाई पक्राउ गरेको हो । बालुवाटरमा कोठा भाडा लिएर उनले कल बाइपास गर्दै आएका थिए ।

प्रहरीले उनको कोठाबाट ३२ पोर्टको जिओआइपी गेटवे २ थान, ल्यापटप १ थान, ल्यापटको चार्जर १ थान, राउटर १ थान, मोबाइल १ थान, नेपाल टेलिकमका सिम १० थान, एनसेलको सिमकार्ड २० थान र नोटबुक १ थान बरामद गरेको छ । पक्राउ परेका उनीमाथि दुरसञ्चार ऐन २०५३ अन्तगर्त मुद्दा दायर भएर ७ दिनको म्याद थप गरिएको छ ।

पक्राउ परेका तामाङ यसअघि २०७२ जेठ १९ गते कल बाइपासमै पक्राउ परेर १ वर्ष कैद बसेर छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ । छिटो आम्दानी हुने भन्दै उनले यस्तो काम गरेका बताएका छन् । काठमाडौं पनि उनले उपत्यका बाहिर पनि भिआइपी सञ्चालन गर्ने तयारीमा रहेो प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले कल क्यारिएरस्ँग मिलेर कल बाइपास गर्थे । 

प्रहरीले अहिलेसम्म १ सय १० स्थानबाट १ सय ३१ नेपाली र ३७ विदेशी गरी १ सय ६८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु विरुद्ध १२ अर्ब १२ करोड ५० लाख ९ हजार ३ सय ३८ रुपैयाँ बिगो माग दाबीसहित अदालतमा मुद्दा दायर भएको छ । 

त्यस्तै अहिलेसम्म प्रहरीले कल बाइपासमा प्रयोग भएको २३ हजार २ सय ६३ थान सिम कार्ड बरामद गरेको छ ।