राजविराज- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वाम गठवन्धनको सरकार र कांग्रेस प्रतिपक्षमा बस्नुको विकल्प नरहेको बताएका छन्।
राजविराजमा छिन्नमस्ता डेरी उद्योग उद्घाटन गर्न बिहीबार सप्तरी आएका कोइरालाले जनताको म्यान्डेट नकार्न नमिल्ने भन्दै कांग्रेस प्रतिपक्षमै रहने बताए। ‘जनताको म्यान्डेट नकार्न मिल्दैन,’ उनले भने, ‘कांग्रेस सरकारमा जाँदैन। जान हुँदैन।’
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बेहोरेको पराजयलाई स्विकार गरेर कांग्रेस अघि बढ्नुपर्ने उनको भनाइ छ। सभापतिलाई मात्रै दोष दिन नहुने भन्दै उनले थपे, ‘सबैबाट कमजोरी भएका छन्, केन्द्रीय सदस्यको नाताले मैले पनि त्यसको जिम्मेवारी लिनुपर्छ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले राजीनामा दिनु जरुरी नरहेको उनले बताए। पार्टीलाई चुस्त बनाउन जतिसक्दो छिटो महासमिति बैठक, विधान संशोधन र त्यसका आधारमा वडादेखि केन्द्रसम्म अधिवेशन गरेर अगाडि बढ्नुपर्ने उनको तर्क छ।
पराजय भोग्नु र कांग्रेस अहिलेको अवस्थामा आइपुग्नुमा कांग्रेसकै आन्तरिक कारण र वाम गठवन्धनप्रति जनताको विश्वास प्रमुख कारण भएको उनको बुझाइ छ। ‘गठवन्धनले स्थिर सरकार बनाउँछौं भनेर अगाडि आयो, जनता पनि ६ महिने र ९ महिने सरकारले आजित भएका थिए,’ उनले भने, ‘हामीले पनि लोकतान्त्रिक गठबन्धन त भन्यौं तर त्यो अमूक पार्टी र अमूक व्यक्तिका लागि मात्रै भयो, कांग्रेसका लागि भएन।’
कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन कतै ठाकुरका लागि र कतै यादवका लागि भएको उनको भनाइ थियो। ‘कांग्रेसले सबैलाई सहयोग गर्यो तर कांग्रेसलाई कसैले सहयोग गरेनन्,’ उनले भने, 'पार्टीको आन्तरिक कारण पनि हारको कारण बन्यो। आपसको तिक्तता प्रदेश र प्रतिनिधिसभा चुनावमा देखियो।' भ्रातृ संस्था चलायमान नभएको र मुलुक संघियतामा गए पनि आफूहरु संघात्मक संरचनामा जान नसकेको उनको स्विकारोक्ति थियो।
सप्तरीमै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन कांग्रेसले क्षेत्र नं २ बाट सकलदेव सुतिहारको उम्मेदवारी फिर्ता लिएको बताएका उनले गठबन्धनका अन्य पार्टीले त्यो इमानदारिता नदेखाएको गुनासो गरे।
कोइराला परिवार नेतृत्वमा नआई कांग्रेस उँभो नलाग्ने हो? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘कोइराला परिवार नेतृत्व लिन सक्षम छ। तर हामीलाई नै नेतृत्व चाहियो भनेर म भन्दिनँ।’
वाम गठवन्धनको सरकारलाई कांग्रेसले सहयोग गर्ने नेता कोइरालाको भनाइ छ। ‘उहाँहरु संविधानलाई टेकेर अघि बढ्नुहुन्छ कि हुन्न, त्यसका आधारमा सहयोग गर्ने/नगर्ने हुन्छ,' उनले भने, 'विकासका कुरामा हाम्रो पूर्ण सहयोग हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।