काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको एक विद्यालयका प्रधानाध्यापकलाई विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बर्जु गाउँपालिका वडा नम्बर ५ स्थित महेन्द्र आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक विनोदकुमार गौतमलाई ३ लाख २२ हजार २ सय ४० रुपैयाँ बिगो माग गर्दै बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
विद्यालयको भवन तथा शौचालय निर्माणमा अनियमितता गरेको, पूर्ण छात्रवृत्तिको रकम लिएर आंशिक छात्रवृत्ति वितरण गरेको पाइएपछि तत्कालीन प्रधानाध्यापक गौतम विरुद्ध मुद्दा दायर गरिएको हो। उनले निकासा भएको रकममध्ये ३ लाख २२ हजार बदनियतपूर्वक हिनामिना गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको दाबी आरोपपत्रमा गरिएको छ।
उनलाई तीन वर्ष कैद र विद्यालयलाई नोक्सान पुर्याएको रकम असुल उपर गर्न र बिगो बराबर जरिवाना गर्न समेत अख्तियारको आरोपपत्रमा माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।