बागलुङ - बागलुङमा हुने ४ नं. प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता'को तयारी तीव्र पारिएको छ ।
बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ । नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको छ ।
प्रतियोगिताको व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष धनबहादुर परियारले बताए। उनका अनुसार प्रतियोगितामा सहभागिताको लागि ४ नं. प्रदेशका २६ वटै नगरपालिकालाई पत्राचार गरिएको छ । प्रतियोगितामा १५ देखि २० वटा टिम सहभागी हुने अपेक्षा गरिएको छ ।
स्थानीय स्तरको फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। नगरपालिका आफैँले पहिलोपटक ठूलो राशीको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।