सिएनएन– अंशु जमसेन्पा सन् २०११ मा सगरमाथा आरोहणका लागि पहिलो पल्ट नेपाल आउँदा उनको दलमा नेपाली महिला पर्वतारोही छोरिम शेर्पा पनि थिइन्। त्यतिबेला अंशुले कठिन परिश्रमका बीच बल्लतल्ल सगरमाथाको सफल आरोहण गरिन्। तर, उनकै दलमा रहेकी छोरिमले एकै साता दुई पटक सगरमाथाको सफल आरोहण गर्दै सबैलाई चकित तुल्याइन्।
छोरिमको त्यो अद्भूत साहसबाट प्रभावित ३८ वर्षीय अंशुलाई त्यतिबेलै इष्र्या जागेको थियो। उनले छोरिमको त्यो कीर्तिमान तोड्न २०११ देखि २०१६ सम्म लगातार तीन पल्ट प्रयास गरिन्। तर, सफल हुन सकिनन्। यस वर्षको मे १६ र २१ मा गरी ५ दिनमा दुई पटक सगरमाथाको सफल आरोहण गर्दै उनले छोरिमको ६ वर्ष पुरानो कीर्तिमान भंग गरिन्।
‘मेरो सफलताको श्रेय म आफ्नो आत्मविश्वासलाई दिन्छु। मलाई लाग्छ, भगवानको सामिप्यमा छु। उनले निरन्तर आशिर्वाद दिइरहेका छन्,’ ५ दिनमा २ पल्ट सगरमाथा चढ्ने कीर्तिमान बनाएकी अंशु भन्छिन्।
अंशुको जन्म भारतको अरुणाञ्चल प्रदेशमा भएको हो। गाउँले परिवेशमा हुर्किएकी उनी आफ्नो संघर्षका कथा मज्जाले सुनाउँछिन्। तीन दिदीकी यी बहिनी सानैदेखि परिवारका अन्य सदस्यभन्दा पृथक थिइन्। घरपरिवारका सबै सदस्य एकै ठाउँमा झुम्एिर टिभी हेर्दा उनी अर्को कोठामा एक्लै बस्थिन्।
कुनै बेला उनलाई पत्रकार बन्ने चाहना थियो। तर, घरको अवस्था कमजोर भएका कारण उनले पढ्न पाइनन्।
उनको जीवनमा एक दिन नसोचेको घटना भयो। त्यो सन् १९९५ को घटना हो। जतिबेला उनी आफ्नो १६औं जन्मदिन मनाउन ‘केक अर्डर’ का लागि छिरिङ वाङ्गेको पसल पुगिन्। उनको नामबाटै पसले मन्त्रमुग्ध भइसकेका थिए। आफ्नो बर्थडेमा अंशुले छिरिङलाई पनि बोलाएपछि उनीहरुबीच प्रेम झाँगिएको थियो। ४ वर्षपछि त्यो प्रेम विवाहमा परिणत भयो। व्यापारी छिरिङकै हौसला र समर्थनमा आफू सगरमाथामा पाइला टेक्न सफल भएको अंशु बताउँछिन्।
अरुणाञ्चलको बोमडिलामा छिरिङको ट्राभल एजेन्सी छ। छिरिङ अरुणाञ्चल माउटेनेरिङ संघका अध्यक्ष पनि हुन्। अध्यक्ष भए पनि कार्यव्यस्तताका कारण छिरिङले कहिल्यै हिमाल चढ्ने अवसर पाएनन्।
पसलमा हिमाल चढ्न आउने अनगिन्ती ग्राहकको कुरा सुनेपछि अंशुलाई विस्तारै हिमालले आकर्षित गर्न थाल्यो। क्रमशः ट्रेकिङ गाइडसँग यात्रामा जान थालेपछि उनलाई एकजना गाइडले हिमाल चढ्ने तालिम लिन सुझाव दिए। जुन उनको करिअरको ‘टर्निङ प्वाइन्ट’ सावित भयो।
अंशुले हिमाल अरोहणको तालिम लिन सन् २००९ देखि सुरु गरेकी हुन्। २ वर्षको निरन्तर तालिमपछि उनमा सगरमाथा चढ्ने आत्मविश्वास पलाएको थियो। ‘मैले सगरमाथा आरोहणका लागि धेरै मिहिनेत गरें। एकाबिहान पहाडतिर कुदें। जिम गरें। निरन्तरको योगा, एरोबिक्स, हाइकिङले मलाई तन्दुरुस्त बनायो,’ उनी भन्छिन्।
सन् २०११ मा पहिलो पल्ट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि घरबाट निस्कँदा आफू रत्तिभर विचलित नभएको उनी सुनाउँछिन्। तर, उनलाई घरमा रहेका १० र ५ वर्षीया छोरीहरुसँग छुट्टिनुपर्दा भने निकै सकस भएको थियो। ‘छोरीहरुलाई श्रीमानसँग छोडेर हिँड्नु पर्दा म भावुक बनेकी थिएँ,’ उनी सम्झिन्छिन्।
५ दिनमा दुई पटक सगरमाथा चढ्ने जोखिमपूर्ण निर्णय अंशुले त्यसै गरेकी थिइनन्। उनीसँगै रहेका शेर्पा गाइडले उनको सामथ्र्य पहिचान गरेपछि उनलाई हौस्याएका थिए। पहिलो पटक निकै छिटो ७ हजार १ सय ६३ मिटर उचाइमा पुगेपछि शेर्पा गाइडले भनेछन्, ‘म्याडम, तपाईं एक पटक होइन, दुई पटक सगरमाथाको आरोहण गर्न सक्नुहुन्छ।’
अंशु जस्तै धेरै आरोहीलाई पटक–पटक सगरमाथाको चुचुरोमा पुर्याएका शेर्पा गाइडको त्यो प्रतिक्रिया वास्तवमै उत्साही बनाउने खालको थियो। तर, जोखिम पनि कम थिएन। पहिले सगरमाथा चढ्दा १० दिन लगाउने अंशुले ५ दिनमै २ पल्ट हिमाल चढिन्। ‘यतिबेला मलाई निकै सहज लागिरहेको थियो’ उनी स्मरण गर्छिन्, ‘म सगरमाथा पाँच पटक चढेँ। यसपालि पहिलो पटक चढ्दा जस्तो सहज कहिल्यै भएन। मौसम सफा थियो। तेस्रो क्याम्पबाट चुचुरोमा पुग्न ६ घन्टा मात्र लगाएँ।’
आरोहण सहज भए पनि उनलाई अवतरण गर्न निकै गाह्रो पर्यो। चढ्दा सफा मौसम उत्रिँदा एक्कासी कहालीलाग्दो बन्यो।
सन् १९६० देखि २०१६ सम्म सगरमाथा चढ्ने क्रममा ६३ जना शेर्पा र १ सय ११ आरोहीले ज्यान गुमाइसकेका छन्। अंशुलाई थाहा थियो, सगरमाथा चढ्नु ज्यानको जोखिम मोल्नु हो। मृत आरोहीको तथ्य थाहा पाएर पनि उनी आफ्नो लक्ष्यमा विचलित नभई सगरमाथा चढिन्। ‘बाँचे मेरो नाममा कीर्तिमान। मरे परिवारमा रोइलो भनेर आफ्नो लक्ष्यबाट नडगमगाई हिमाल चढें,’ उनले भनिन्।
पहिलो पल्ट सगरमाथा चढेर पुनः दोस्रो पल्ट चढ्ने क्रममा उनीसँगै रहेका एक आरोहीको मृत्यु भयो। कीर्तिमानका लागि हिँडेकी अंशुलाई त्यो क्षण असहज लागेको थियो। उनले शेर्पालाई सोधेकी थिइन्, ‘अब के गर्ने?’
आफूभन्दा पछाडि रहेका शेर्पालाई प्रश्न सोधेर अगाडि फर्कंदा ती आरोहीले संसार छोडिसकेका थिए। ‘म अझै त्यो क्षण भुल्न सक्दिन,’ उनले भनिन्।
कीर्तिमानका लागि नेपालतर्फको यात्रा तय गर्नुअघि उनले तिब्बती धार्मिक गुरु दलाई लामासँग आशिर्वाद लिएकी थिइन्। ‘उहाँको आशिष लाग्यो। मेरो मनोकामना पूरा भयो,’ उनले भनिन्।
गुरुसँग आशिर्वाद थापेर हिँडेको ३८औँ दिनमा उनी सगरमाथाको तेस्रो क्याम्पमा पुगेकी थिइन्। अप्रिल ४ बाट सुरु भएको उनको आरोहण यात्रा मे १६ मा सर्वोच्च शिखरमा भारतीय झन्डा फहराउँदै टुंगिएको थियो। (शिशिर ढकालले गरेको भावानुवाद)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।