काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ।
प्रतिनिधी सभाको राज्य तथा सुशासन समितिमा रहेका नेपाली काँग्रेसका अधिकांस सांसदहरुले राष्ट्रिय परिचय पत्रको औचित्य, छपाइ र कानूनी प्रक्रियाका विषयमा प्रश्न उठाएा थिए । सांसदहरु दिलेन्द्रप्रसाद बडु, अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भईरहेकै बेला सो परिचय पत्र विवरणको कामलाई जारी राखेकोमा आपत्ति जनाउँदै तत्काल स्थगित गर्न सरकारसँग माग गरेका हुन्।
शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै काँग्रेस सांसद बडुले कानुन निर्माणको पाटोमा संसदीय समितिमा छलफल भइरहेकै बेला सो परिचय पत्र वितरण गरेर सरकारले गल्ती गरेको दावी गर्दै तत्काल स्थगित गर्न माग गरे। उनले राष्ट्रिय परिचय पत्र छपाई पनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरित रहेको दावी गर्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारलाई सचेत गराए। ‘अर्र्बाैको बजेट खर्च गरेर सो परिचय पत्र छपाईको काम सरकारले सुरु गरेपनि सो सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरित रहेकाले त्यसबारे सरकारले स्पष्टिकरण दिनुपर्छ,’ काँग्रेस सांसद बडुले भने।
काँग्रेस सांसद अमरेशकुमार सिंहले कानुन विपरित राष्ट्रिय परिचय पत्र विवरणको कामलाई सरकारले जारी राखेकोमा आपत्ति जनाए। उनको प्रश्न थियो, ‘कानुन नै नबनाई कसरी राष्ट्रिय परिचय पत्र विवरण गरियो ?’
काँग्रेस सांसद देवेन्द्रराज कँडेलले गृह मन्त्रालयले नागरिकता वितरणको काम र राष्ट्रिय परिचय पत्र वितरणको काममा ‘केटाकेटीपन’ देखाएको उल्लेख गर्दै आपत्ति जनाए। उनले समितिमा बिचाराधिन नागरिकता विधेयक र राष्ट्रिय परिचय पत्र विधेयक पारित गरेपछि राष्ट्रिय परिचय पत्र वितरणको कामलाई अघि बढाउन पनि सरकारलाई सचेत गराए।
बैठकमा समितिका सदस्यहरुले हालसम्म वितरण गरिएको राष्ट्रिय परिचय पत्रको कानुनी आधार बलियो नभएकाले यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराएका थिए।
*फाइल तस्विर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।