धनगढी- कैलाली प्रहरीले नक्कली नोट छाप्ने गिरोहलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिका १ नैनादेवीस्थित एक घरमा डेरामा बसेर नेपाली तथा भारतीय नोट छाप्ने ७ जनाको गिरोहलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा चुरे गाउँपालिका १ घर भई धनगढी उपमहानगरपालिका १ मा बस्दै आएका २५ वर्षीय खगेन्द्र बम भन्ने खगेन्द्र बहादुर रजवार, चुरे गाउँपालिका १ का २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका ३ बस्ने २४ वर्षीय पल्लपराज भट्ट, महोत्तरी साबिक किसाननगर गाविस ९ घर भई हाल काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा बस्दै आएका २५ वर्षीय गोकुलबहादुर खड्का, कैलारी गाउँपालिका ५ घर भई धनगढी उपमहानगरपालिका १ मा बस्दै आएका ३४ वर्षीय छेदुराम डंगौरा थारु, भारतको लखिमपुर खिरी बस्दै आएका २२ वर्षीय श्रवणकुमार सिंह र सोही स्थानका २३ वर्षीय गुरुजित सिंह रहेका छन्।
प्रहरीले श्रवण र गुरुजितलाई साउन ३ गते ४० हजार ९ सय भारु नक्कली नोटसहित, छेदुरामलाई साउन १५ गते सेती अञ्चल अस्पतालबाट एक हजारको ४ वटा नेपाली नक्कली नोटसहित, खगेन्द्र र भोजबहादुरलाई साउन १७ गते धनगढी १ मा स्थित कोठाबाट, पल्लपराजलाई १८ गते धनगडी ३ बाट पक्राउ गरेको थियो। गोकुलबहादुर भने कोटेश्वरबाट साउन २१ गते पक्राउ परेका थिए।
धनगढी बजारको एक किराना पसलमा एक हजारको नक्कली नोट फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। ‘बजारमा नक्कली नोट छयाप्पछयाप्ती रहेको भन्ने थाहा पाएपछि सूक्ष्म ढंगले यसको अनुसन्धान थालियो,’ कैलाली प्रहरी प्रमुख सुदीप गिरीले भने, 'मुख्य योजनाकारसम्म पुग्न हामीले अनुसन्धान जारी राखेका थियौं। सोही क्रममा धनगढीको सेती अञ्चल अस्पतालको फार्मेसीमा अपरिचित मान्छेले एक हजारको १७ वटा नक्कली नोट दिई नेपाली ५ सय रुपैयाँ दरका नोट सटही गरी लगेको सूचना आयो। सोही आधारमा हुलिया पहिचान गर्दै जाँदा छेदुराम पक्राउ परे। प्रहरीले उनीबाट एक हजारका ४ वटा नक्कली नोट पनि बरामद गरेको थियो।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटनाको मुख्य योजनाकार गोकुलबहादुर रहेको जनाएको छ। उनले नक्कली नोट तयारी गर्दा कटिङ, फिनिसिङ समेत गर्ने, सेटिङ मिलाउने र सिकाउने काममा संलग्न रहेको प्रहरीले जनाएको छ। आइटी सम्बन्धी १८ महिने कोर्स गरेका उनी लामो समयदेखि नक्कली शैक्षिक प्रमाणपत्र, लाइसेन्स लगायत अन्य नक्कली कागजपत्र बनाउने काममा सक्रिय रहेको प्रहरीले जनाएको छ।
चैतमा धनगढी आई उनले खगेन्द्रसँग सो योजना बनाएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा गोकुलले १३ लाख ५० हजार बराबरको नक्कली नोट छापेको खुलेको छ। उनलाई केन्द्रीय अनुसन्धान विभागको टोलीको सहयोगमा कोटेश्वरबाट पक्राउ गरिएको थियो।
गोकुलसँग परिचित भएका खगेन्द्रले भने मेसिन खरिदका लागि पैसाको बन्दोबस्त गरेका थिए। खगेन्द्रलाई पैसा छाप्न सिकाएका गोकुल एक महिनापछि काठमाडौं फर्किएका थिए। गोकुल गएपछि खगेन्द्रले नक्कली नोट तयार गर्दा कटिङ, फिनिसिङ गर्ने तथा ग्राहक खोज्ने काम गर्न थाले।
खगेन्द्रसँगै भोजबहादुर मेसिन खरिद गर्न गएका थिए। भोजबहादुर कागज, पानी, टेप तथा अन्य आवश्यक सामान ल्याउने काममा सहयोगी रहेको प्रहरीले जनाएको छ। प्रहरीले साउन १८ गते पक्राउ गरेका पल्लप भने नक्कली नोट तयार भइसकेपछि ग्राहक खोजिदिने काममा संलग्न रहेको जनाइएको छ।
गोकुल गइसकेपछि उनीहरुले १० लाख बराबरको नक्कली नोट छापेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी प्रमुख गिरीले बताए। उनले भने, ‘अझै बढी नोट छापेको हुनुपर्छ तर, प्रारम्भिक अनुसन्धानमा गोकुलले १३ लाख ५० हजार र खगेन्द्रसहितको टोलीले १० लाख नगद बराबरको नक्कली नोट छापेको पाइएको छ।’
प्रहरीले पक्राउ परेका खगेन्द्रको घरबाट नक्कली नोट छाप्न प्रयोग गरिएको एक थान ब्रोदर कम्पनीको मेसिन, नोट छाप्न प्रयोग भएको २ सय २० थान ए–३ डबल साइजको सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोटसमेत बरामद गरेको छ। उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली ५ सय दरको ९८ नोट, ५ सयकै भारतीय ८६ नोट, भारतीय ५ सय दरको पछाडिको भाग छापिएको ४ नोट बरामद गरिएको छ।
यस्तै माथिल्लो अगाडिको भाग मात्र छापिएको ३० नोट, पछाडिको भाग मात्र छापिएको ५ सयकै ८ नोट, ५ सयकै तल्लो पछाडिको भाग छापिएको १२ नोट बरामद गरिएको प्रहरी प्रमुख गिरीले बताए। त्यस्तै एक हजारका ६८ नोटसमेत बरामद भएको छ।
प्रहरीले विभिन्न हिसाबकिताब लेखिएको डायरी, स्टिलको कैची, एक थान स्केल, एक थान मोबाइल र रेडियो सञ्चार एफएम गढी बैतडी लेखिएको एक थान स्टम्प पनि बरामद गरिएको छ।
प्रहरीले उनीहरुविरुद्ध खोटा चलन शीर्षकमा कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार खोटा मुद्रा बनाए ५ वर्षदेखि १० वर्षसम्म कैद तथा ५० हजारदेखि एक लाख रुपैंयासम्म जरिवाना गर्ने व्यवस्था छ।
यसैगरी खोटा मुद्रा चलन गर्ने गरेको प्रमाणित भएमा ७ वर्ष सम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था अपराध संहिता २०७४ ले गरेको छ। संगठित अपराध गरेको प्रमाणित भए मुलुकी ऐनले निर्दिष्ट गरेको सजायमा थप ५० प्रतिशत बढी सजाय भुक्तानी गर्नुपर्ने व्यवस्था मुलुकी ऐन २०७२ ले निर्दिष्ट गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।