सोल- ‘नेपाल भ्रमण वर्ष २०२०’ ले एसिया महादेशभित्रकै एउटा विकसित देश कोरियालाई अहिलेसम्म छुन सकेको छैन। सरकारले सन् २०१८ देखि २०२० सम्मको अवधिमा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको बताए पनि त्यसका लागि आवश्यक प्रचारप्रसारका कार्यक्रम चीन तरेर कोरिया अझै आउन सकेका छैनन्।
गौतमबुद्धको जन्मभूमिसमेत रहेको नेपालले पर्यटन वर्ष मइरहँदा ५ करोड जनसंख्यामध्ये १५ दशमलव ५ प्रतिशत बौद्ध धर्मालम्बी भएको देश कोरियाका अधिकांश नागरिक बेखबर छन्। कोरियाका नेपाली पर्यटन व्यवसायीको पहलमा नेपाल पर्यटन बोर्डसँग खर्च लिएर मुख्य दुई सहरमा पर्यटन वर्ष २०२० सम्बन्धी सामान्य कार्यक्रमबाहेक सरकारी स्तरमा कुनै कार्यक्रम भएका छैनन्।
सरकारी स्तरबाट पर्यटन वर्षलाई लक्षित कार्यक्रम नहुँदा पनि सन् २०१८ मा कोरियाबाट नेपाल भ्रमणका लागि निस्कने पर्यटकको संख्या ३७ हजार १ सय ४२ रहेको सोलस्थित नेपाली दूतावासको तथ्यांक छ।
अन्य देशले आफ्नो देशको पर्यटन विकासका लागि सरकारी खर्चमा बोर्डबाटै कोरियामा कर्मचारी खटाउने गरेका छन्। कोरियामा जापान लगायतका कतिपय देशका प्रान्तहरु समेत छुट्टै प्रतिनिधि खटाएर आफ्नो क्षेत्रको पर्यटन प्रवर्द्धनमा लागेका छन्। नेपालले भने अहिलेसम्म तेस्रो मुलुकमा एउटा पनि पर्यटन प्रवर्द्धन कार्यालय स्थापना गर्न सकिरहेको छैन।
कोरियाका लागि सन् २००२ मा पर्यटन मानार्थ दूतको जिम्मेवारी पाएर पर्यटन प्रवर्द्धनमा लागिरहेका केपी सिटौलाले सरकार नतातेसम्म विदेशी पर्यटक नेपाल पठाउन गाह्रो पर्ने बताए। पर्यटन मन्त्रालयले विभिन्न प्याकेजका कार्यक्रम ल्याएमा पर्यटक लोभ्याउन सकिने उनको भनाइ छ।
सिटौलालाई नाम मात्रको पर्यटनदूत खटाएको पर्यटन बोर्डले न आवश्यक प्रचारप्रसारका लागि खर्च छुट्याएको छ, न त आफै सक्रिय छ।
नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा कोरियाका पर्यटनदूत र नेपाली समुदायको पहलमा सोल स्टेसनबाट सोल (नामसान) टावरसम्मको वृहत र्याली, कोरियाका मुख्य दुई सहरहरु सोल र बुसानमा गरिएका मुख्य दुईवटा कार्यक्रमबाहेक 'नेपाल भ्रमण वर्ष २०२०'का लागि सरकारीस्तरमा कुनै कार्यक्रम भएका छैनन्।
नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाली दूतावास सोल र पर्ययनदूत सिटौलाको संयुक्त पहलमा सोल र बुसानमा गत अप्रिलमा दुई कार्यक्रमहरु भएका थिए। सिटौलाले भने, '२०२० आउन ६ महिना मात्रै बाँकी रहँदा कुनै ठोस योजना आगाडि नआउनु अति नै आश्चर्यजनक छ।'
उक्त दुई कार्यक्रमको खर्च भने बोर्डले उपलब्ध गराएको थियो। 'आवश्यक प्रचारविनै र पर्यटकका लागि कुनै सहुलियतका योजनाविनै नेपाल घुम्न जाऔं भन्नुले कुनै अर्थ राख्दैन,' उनले भने, 'मैले कोरियालीसँग नेपाल घुम्न जाऔं भन्ने प्रस्ताव राख्दा उनीहरुले नेपाल जानुभन्दा युरोप सस्तोमा भ्रमण गर्न सकिने जवाफ दिने गरेका छन्।'
कोरिया-नेपाल सिधा उडान भर्ने एउटा मात्र जहाज कम्पनी कोरियन एयरलाइन्सको एकाधिकारका कारण कोरियाली पर्यटकका लागि नेपाल भ्रमण अन्य देशको तुलनामा महँगो पर्ने सिटौलाको बुझाइ छ।
‘पहिलो त नेपाल एयरलाइन्सले कोरियाका लागि जहाज उडाउनुपर्छ। कोरिया-नेपाल हवाई भाडा मात्रै कम हुने हो भने पनि कोरियाली पर्यटक नेपाल भित्र्याउन धेरै सहज हुन्छ,' उनले भने।
सन् २००२ मा नेपाल र कोरियाबीच नेपाली जहाजले पनि कोरियामा उडान भर्न पाउने सहमति थियो तर तत्कालीन अवस्थामा नेपालसँग जहाज थिएन। अहिले नेपालसँग जहाज भए पनि विभिन्न प्राविधिक कारणले नेपाल एयरलाइन्सले कोरियाका लागि जहाज उडाउन नसकिएको बताएको छ।
पर्यटन वर्षलाई सफल पार्न विदेशीमाझ अन्य वर्षभन्दा सहुलियतका योजना लिएर जानुपर्ने सरोकारवालाहरु बताउँछन्। कम्तीमा भिसा नि:शुल्क बनाउन सके कोरियाबाट नेपाल भ्रमणमा निस्कने पर्यटकको संख्यामा वृद्धि हुने उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।