जनकपुर- प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले देशमा नीतिगत संक्रमणकालीन अवस्था भएको हुँदा मानव अधिकारको अवस्था कमजोर भएको बताएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयद्वारा बिहीबार जनकपुरमा आयोजित नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी प्रदेशस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै कानुनमन्त्री यादवले मुलुकमा नागरिक समाजको कमजोर प्रस्तुतिले मानव अधिकारको अवस्था कमजोर भएको बताए। उनले भने, ‘जहाँ नागरीक समाज बलियो हुन्छ, त्यहाँ सुशासन हुन्छ र जहाँ सुशासन हुन्छ त्यहाँ भ्रष्टाचारको कुरा आउँदैन। तर यहाँ नागरीक समाज पार्टीगत रुपमा बिभाजित छ, कमजोर छ।’ नागरिक समाज बलियो नहुँदा राज्य निरकुंश बन्दै गएको र भ्रष्टाचार मौलाएको उनको भनाइ थियो।
फरक प्रसंगमा उनले प्रदेश सरकार मातहतमा प्रहरी जवान ल्याउने प्रयास भइरहेको बताएका थिए। प्रदेशसभाबाट लोकसेवा विधेयक पारित भइसकेकोले अब चाँडै लोक सेवा आयोग गठन गरेर प्रहरी भर्ना गर्ने समेत उनले बताएका थिए।
आफ्नै प्रहरी प्रशासन भएपछि प्रदेशको शान्ति सुरक्षा र मानव अधिकारको अवस्था मजबुत बन्नुका साथै सुशासन समेत कायम हुने दाबी उनको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।