काठमाडौं- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशको राजधानी हेटौंडैमा हुनुपर्ने भन्ने पक्षमा आफू नरहेको बताएका छन्। मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी काठमाडौंमा भने हुन नदिने अडान पनि राखेका थिए।
बिहीबार काठमाडौंमा आयोजित संचारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले आफूले २०, २५ वर्षदेखि राजधानी काठमाडौंलाई व्यवस्थित बनाउन चाहेकाले पनि काठमाडौंमा प्रदेश ३ को राजधानी हुन नदिने निर्णयमा आफू पुगेको पनि स्पष्ट पारेका थिए।
‘प्रदेशको राजधानी हेटौडैमा हुनुपर्छ भन्ने पक्षमा आफू छैन,’ मुख्यमन्त्री पौडेलको स्पष्टीकरण पनि थियो, ‘घर पायकको आधारमा मात्र राजधानी नरहने कुरा पक्कै हो।’
मुख्यमन्त्री पौडेलले नुवाकोट र रामेछापमा पनि राजधानी रहने सम्भावना रहेको औंल्याउँदै त्यसमा छलफल गर्न आफू तयार रहेको पनि स्पष्ट पारे। तर सिंहरदबारको छायाँमा भने प्रदेश ३ को राजधानी रहन दिनुहुँदैन भन्ने मान्यतामा आफू अडिग रहेको मुख्यमन्त्री पौडेलको भनाई छ।
मुख्यमन्त्री पौडेलले काठमाडौं बाहिरका क्षेत्रको विकास गर्न र काठमाडौंलाई व्यवस्थित बनाउन पनि प्रदेश ३ को राजधानी काठमाडौंमा बनाउन नहुने तर्क गरे। प्रदेशको राजधानी र नाम दुवै एकै दिन टुंगो लगाउने बताएका मुख्यमन्त्री पौडेलले आफ्ना प्रदेशका सेवा प्रवाहको कामलाई राम्रोसँग सम्पन्न गर्न १५६ वटा कार्यालयलाई क्रियाशील गराइएको दाबी गरे।
कृषकलाई राहत दिन सामूहिक कृषि प्रणाली कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पारे।
मुख्यमन्त्री पौडेलले प्रदेश ३ को विकासका सम्भावनाका क्षेत्रहरुको पहिचान गर्ने काममा सघाउ पुर्याउन पनि संचारकर्मीहरुलाई पटक–पटक आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।