काठमाडौं– संसदको बैठकमा एक चौथाइ पनि सांसदहरु पूरै समय नबस्दा नियमित कामकारबाही अवरोध उत्पन्न भएको छ । मंगलबार नियमित कार्यसूचीमा रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको सेफगार्ड, एन्टिडम्पिङ तथा काउन्टर भेलिङ विधेयक पारित गर्न सकस परेको छ।
सांसदहरुको ‘खाश रुचीको विषय’ नभएका कारण धेरैजना बैठक छाडेर हिँडिसकेका थिए । विधेयक पारित गर्न खोज्दा सभामुख कृष्ण बहादुर महरालाई सांसद देवप्रसाद तिमिल्सिनाले रोके । गणपूरक संख्या नपुगेको भन्दै उनले नियमापत्ति गरेका हुन् । सभामुखले चाहिने संख्यामा सांसद नदेखेपछि तीन मिनेट घन्टी बजाएका थिए । त्यो अवधिमा समेत आवश्यक संख्यामा सांसदहरु संसदहल भित्र प्रवेश गरेनन्।
तर, सांसदहरु संसद भवन नै छाडेर बाहिरिसकेकाले उपस्थित हुन सकेनन् । नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि विषयलाई संसदमा निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ संख्या चाहिन्छ । प्रतिनिधी सभामा २ सय ७५ जना सांसद हुन्छन् । संसदमा सांसदको गणपूरक संख्याका लागि ६९ जना उपस्थित हुनुपर्छ ।
सांसदको संख्या नपुगेपछि १५ मिनेटका लागि संसद स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।