काठमाडौं- नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तयार गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसप्रति बनाएको दृष्टिकोणप्रति आपत्ति जनाएको छ।
कांग्रेसले पत्रकार सम्मेलन गरी नेकपाको राजनीति प्रतिवेदनमा राखिएको दृष्टिकोणप्रति दृष्टिदोष भएको जनाएको हो। प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘दस्तावेजमा कांग्रेसबारे इमानदार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ। दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्छ दृष्टिदोषमाथि केवल दया मात्र। म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु।’
दृष्टिदोषको उपचार मानसिकता परिवर्तनपछि मात्रै उनले उनले बताए। सार्वजनिक भएको नेकपाको राजनीतिक प्रतिवेदनमा कांग्रेस पुँजीपति वर्गको पार्टी भएको ठहर गरिएको छ। दलाल, नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व कांग्रेसले गर्ने उल्लेख गरिएको छ। 'नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली कांग्रेसले नै गरेको छ। त्यसैले अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादसँग यसको घनिष्ट एवं अन्योन्यास्रित सम्बन्ध छ। यसको नवउदारवादी आर्थिक नीतिको अन्धानुकरणलाई यसै परिप्रेक्ष्यमा बुझ्नुपर्दछ। उसको यही आर्थिक नीतिकै कारणबाट काङ्ग्रेस नेतृत्वको लामो अवधिमा पनि देशमा उत्पादक शक्तिको विकासले गति लिन सकेन र आर्थिक विकास हुन सकेन,' नेकपाको राजनीतिक प्रतिवेदनमा भनिएको छ, 'नेपाली काङ्ग्रेसको वर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारणबाट उसले लगाउने गरेको ‘प्रजातान्त्रिक समाजवाद’ को नारा औपचारिकता र ढोँगमा परिणत भएको छ।'




फरक प्रसंगमा उनले आधिकारिक ट्रेड युनियनबाहेक अन्य युनियन वा निजामती कर्मचारीले अधिकारका प्रस्तुत गर्न नपाउने गरी विधेयक ल्याइएको भन्दै आपत्ति जनाएका छन्। शर्माले भने, ‘आफ्ना हकहितका लागि माग समेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरीत छ।’
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका उक्त विधेयक छलफलका क्रममा छ। ‘निजामति सेवाको गठन, संचालन र संवादका शर्त’ सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ को व्यवस्था प्रति कांग्रेसले आपत्ति जनाएको हो।
व्यवस्थित र व्यावहारिक बनाउने विषयमा छलफल गर्न सकिने उल्लेख गर्दै शर्माले भने,‘तिनलाई घुमाउरो ढंगले प्रतिवन्धित नै गर्ने नियतसंग सम्झौता गर्न सकिन्न।’
सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा हुनुले अरुका लागि उपदेशको नैतिकता देखाउनु अर्थ नहुने शर्माले बताए। सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति नियमको पालना स्वयं सत्तारुढले नै नगरेको प्रति उनले आपत्ति जनाए। उनले भने, ‘हामी आशा गर्छौं यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ।’
काश्मीर सन्दर्भमा नेपाली कांग्रेसको कुनै स्पष्ट दृष्टिकोण उनले देखाएनन्। भारतको आन्तरिक मामिला भएको जनाउँदै उनले भने, ‘सरकारले तय गरेको विदेश नीतिलाई सबै दलले बोक्नुपर्छ। साझा धारणा बनाउन सरकारकै पहल हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।