काठमाडौं- दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ।
धनगढी क्रिकेट एकेडेमीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टोलीको रणनीतिक खेलाडीको घोषणा गरिएको हो।
धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा आगामी चैत १७ देखि बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिए।
जसमा पहिलोपटक डिपिएल खेल्न लागेको महेन्द्रनगरको रणनीतिक खेलाडी विनोद भण्डारी छन्। त्यस्तै, चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का छन्।
उक्त प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछ। यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडीले १० हजार रुपैयाँ र म्यान अफ द सिरिज हुनेले टिभीएस अपाचे १८० सिसीको मोटरसाइकल पाउनेछन्। त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउने आयोजकले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले यस किसिमको प्रतियोगिताले नयाँ खेलाडीको विकाससँगै क्रिकेट खेलको विकासमा सघाउ पुग्ने बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।