ऊर्जामन्त्री बोल्दा संसद्‌मा बत्ती गएपछि सांसदको प्रतिक्रिया– तस्बिर आफैं बोल्छ, नो क्याप्सन!

नेपाल लाइभ | २०७६ श्रावण २३ बिहीबार | Thursday, August 08, 2019 १४:३४:०० मा प्रकाशित

काठमाडौं– बिहीबार संसदमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बोलिरहँदा अकस्मात बत्ती गयो। बत्ती जाने क्रम दोहोरियो। मन्त्री पुनलाई प्रश्न सोध्ने क्रममा केही सांसदले देशको अवस्था उक्त संयोगले दर्शाइदिएको बताए। 

सुरुमै प्रश्न राख्न पुगेका नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले विद्युतसँग सम्बन्धित मन्त्री बोल्दा संसदमा पटक–पटक बत्ती जानुले विद्युतको अस्तव्यवस्ता देखाएको बताए। उनले भने, ‘विद्युत आपूर्तिसँग सम्बन्धित कुरा उठिरहँदा संसदमा विद्युत आपूर्ति पटक–पटक बन्द हुनुले नै देखाउँछ। देशको विद्युत आपूतिको अस्तव्यवस्तता कस्तो छ?’

अर्का सांसद कृष्णगोपाल श्रेष्ठले परिस्थितिले देशभरिको स्थिति जताइदिएको भन्दै ऊर्जामन्त्रीको ध्यान आकृष्ट गराए। संसदमा उनको भनाइ थियो, ‘आजै गजब भयो। विद्युत् र जलस्रोत मन्त्री बोलिरहँदा ठ्याक्कै बत्ती ठ्याक्कै निभ्यो। आजै जस्तै कहिल्यै भएको थिएन। देशभरिको स्थितिका बारेमा संसदमार्फत् जानकारी दिइएको हुन सक्छ!’

प्रश्नगर्ने मध्य एक सांसद लक्ष्मी परियारले सदनमा तस्बिर आफैं बोलेको बताइन्। उनले  भनिन्, ‘धेरै ठाउँमा लेखेको देख्छु, तस्बिर आफैं बोल्छ नो क्याप्सन ! आज संसदमा तस्बिर आफैं बोलेको छ।’

संसदको बत्ती लोडसेडिङ कारण नभइ एमसिभी झरेर निभेको स्पष्टिकरण सांसद पदम गिरीले दिए। उनले उज्यालो नेपालका लागि पहल कदमी लिइरहेको भन्दै मन्त्री पुनलाई धन्यवाद दिँदै भने, ‘एमसिभी गिरेका कारण विद्युत आपूर्ति असहज भयो। तर, लोडसेडिङ भनेर कुरा उठाइयो। यस्ता हल्काफुल्का विषयले मर्यादा घटाउँछ।’