बैतडी - बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आज हुने भनिएको अन्तिम खेल वर्षाका कारण स्थगित भएको छ।
गएरातिदेखिको वर्षाका कारण खेल मैदान तथा पिच गीलो भएकाले उपाधि भिडन्त बिहीबार १० बजेका लागि सारिएको नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले जानकारी दिए।
बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उपाधिका लागि दशरथचन्द नगरपालिका–४ खलंगा र दशरथचन्द नगरपालिका–२ देहीमाडौँ भिड्ने तालिका थियो।
मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकलाई १ सय १५ रनले पाखा लगाउँदै खलंगा फाइनलमा पुगेको हो। देहीमाडौँले सेमीफाइनलमा दशरथचन्द नगरपालिका–६ थालिगाडालाई चार विकेटले स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको थियो।
उपाधि विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक जनाले पाँच हजार रुपैयाँ नगद, तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
शहीद दिवशको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।