कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ८ वर्षपछि पक्राउ

नेपाल लाइभ | २०७६ श्रावण २३ बिहीबार | Thursday, August 08, 2019 ०९:५२:०० मा प्रकाशित

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई ८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११, गाग्रेताल निवासी २८ वर्षीय कमल सुनार छन्। 

जिल्ला अदालत सुर्खेतले २०६८ फागुन १७ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहरको फैसला गरेपश्चात् फरार रहेका सुनारलाई बुधबार उनकै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

अदालतको फैसला आदेशअनुसार पक्राउ परेका सुनारको हकमा दुई वर्ष ११ महिना २ दिन कैद भुक्तान गर्न बाँकी रहेको लगत नं ६६२ मा देखिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।

सुनारलाई पक्राउ गरी अदालतमा बुझाइएको र अदालतकै आदेशअनुसार उनलाई बुधबार नै कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। रासस