इंग्ल्याण्ड - ब्रिस्टोल सिटीलाई पराजीत गर्दै म्यान्चेस्टर सिटी कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ। पेप ग्वार्डिओलाले टोली सम्हालेपछि सिटी कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो अवसर हो।
लीग कपसमेत भनेर चिनिने प्रतियोगिताको सेमीफाइनलमा सिटीले दोस्रो लेगको खेलमा ब्रिस्टोललाई ३–२ गोल अन्तरले पराजीत गरेको हो। यो जीतसँगै समग्रमा ५–३ को नतिजा निकाल्दै म्यान्चेस्टर सिटीले आइतबार वेम्ब्लीमा हुने फाइनल खेलमा आफ्नो स्थान पक्का गरेको हो।

आफ्नै घरेलु मैदान एस्टोन गेटमा पहिलो हाफमा दवावमा आएको ब्रिस्टोलको पोष्टमा लेरो सेनले गोल गर्दै म्यान्चेस्टर सिटीलाई अग्रता दिलाए। पहिलो हाफ सकिन २ मिनेट मात्रै बाँकि रहँदा उनले गोल गरेका थिए।
दोस्रो हाफमा पनि सुरुदेखि नै सिटीले ब्रिस्टोलमाथि दवाव बनाइरह्यो। खेलको ४९ मिनेटमा काउन्टर एट्याक गर्दै अर्जेन्टीनी स्ट्राइकर सर्जियो अग्वुइरोले अग्रता दोब्बर पारे।

तर खेलको ६० मिनेटपछि भने आफ्ना घरेलु समर्थकमाझ ब्रिस्टोलले खेल सुधार गर्ने रणनीति लियो। जस मुताविक ६४ मिनेटमा मार्लोन प्याकले टोलीका लागि हेडमार्फत पहिलो गोल गरे।
अन्तिम २० मिनेट निकै दवावमा देखिएको म्यान्चेस्टर सिटीको पोष्टमा गोल गर्दै ब्रिस्टोलले खेल बराबरीमा ल्यायो। ब्रिस्टोलका लागि इन्जुरी समयको चौथोँ मिनेटमा अडेल फ्लिन्टले गोल गर्दै खेलमा फर्किने संकेत गरे।

तर ब्रिस्टोलका समर्थकहरुको त्यो खुशी २ मिनेट पनि टिक्न पाएन। म्यान्चेष्टर सिटीका डे ब्र्युनले हानेको अन्तिम प्रहार गोलमा परिणत भएपछि उसले आइतबारका लागि आफ्नो स्थान पक्का गरेको हो।
सिटीले फाइनलमा आर्सनल र चेल्सीबिचको विजेतासँग खेल्नेछ। यी दुई टोली सेमीफाइनलको दोस्रो लेगमा आज भिड्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।