गोरखा– ‘गोरखकाली रनिङ कप’ आगामी फागुन ७ गतेदेखि १४ गतेसम्म हुने भएको छ।
हरमटारी क्लबको आयोजनामा गोरखा बजारको हरमटारीस्थित रंगशालामा फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो। प्रतियोगितामा प्रथम हुने टिमले २ लाख पाउने तथा दोस्रोले १ लाख रुपैयाँ पाउने घोषणा गरिएको छ।
यस्तै, सेमिफाइनलमा पुग्ने दुई टिमले ५०/५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष विशाल गुरुङले बताएका छन्। उनले पुरस्कार राशि अघिल्लो वर्षको भन्दा ५० हजार बढाएर २ लाख बनाइएको बताए।
०७० सालदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले प्रत्येक वर्ष पुरस्कार राशि बढाउँदै आएको छ।
खेलकुदको माध्ययमबाट जिल्लाको पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ विगत वर्ष झैं रनिङ कप आयोजना गर्न लागिएको क्लबका किरण ढकालले जानकारी दिए। क्लबले यस वर्षको रनिङ कप सम्पन्न गर्न २४ लाख ८५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।
प्रतियोगिताका लागि देशभरका कुनै पनि समूह तथा खेलाडीहरु संलग्न हुन पाउने आयोजकले जनाएको छ।
क्लबले पाचौं गोरखकाली कपका लागि गोरखामा पहिलो गोरखकाली मेला समेत गरेको थियो। आठ दिनसम्म चलेको मेलाबाट २ लाख १७ हजार ६ सय ४७ रुपैयाँ नाफा भएको क्लबले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।