काठमाडौं- ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा शिवम् न्यु डायमन्ड एकेडेमी र टप्स उच्च माविले जित हात पारेका छन्। मंगलबार भएको खेलमा न्यु डायमन्डले पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै ६ खेलबाट १८ अंक बनाएको छ।
न्यु डायमन्डले पुलिसलाई पहिलो र दोस्रो सेटमा २५–१७ र २५–१५ ले हरायो। प्रतिस्पधात्मक बनेको तेस्रो सेट पुलिसले ३१–२९ ले जिते पनि चौथो सेटमा न्यु डायमन्ड २५–१७ ले विजयी बन्यो।
अर्को खेलमा पश्चिमाञ्चलको टप्स उच्च माविले मेघौली स्पोर्टस क्लबलाई २५–८,२५–१३ र २६–२४ को सोझो सेटमा हराउँदै ३ अंक जोड्यो। टप्स उच्च माविको लिगमा ९ अंक पुगेको छ।
त्यस्तै, मंगलबार भएको अन्य खेलमा पूर्वाञ्चल क्षेत्रीय भलिबल संघ र श्रीगाँउ पनि विजयी भए। पूर्वाञ्चलले प्रतिस्पर्धात्मक खेलमा न्यु डायमन्ड स्पोर्टस् क्लबलाई २७–२५,२५–२२,१८–२५,२१–२५ र १५–५ ले पाखा लगायो। श्रीगाउँले पारामाउन्ट हाइस्कुललाई २५–१२,२५–१७ र २५–२० को सोझो सेटमा पराजित गर्यो।
१३औं संस्करणमा अपराजित रहेका न्यु डायमन्ड एकेडेमी र एपीएफ ६ खेलबाट समान १८ अंकसहित शीर्ष स्थानमा छन्। प्रतियोगितामा ६ खेलबाट ४ सफलता हात पारेका नेपाल पुलिस र नेपाल आर्मीको समान १२ अंक छ।
प्रतियोगिताको विजेताले ३ लाख २५ हजार र उपबिजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।