इंग्ल्यान्ड- इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर बेन स्टोक्सले आगामी महिना हुने न्युजिल्यान्ड भ्रमणको पहिलोे खेल गुमाउने भएका छन्। फेब्रुअरी १३ मा ब्रिस्टोल मेजिस्ट्रेट कोर्टमा सुनुवाइ तोकिएपछि सोही दिन नै हुने न्युजिल्यान्डसँगको पहिलो टि-ट्वान्टी खेल उनले गुमाउने भएका हुन्।
२८ वर्षीय क्रिकेटर स्टोक्स गत सेप्टेम्बरमा ब्रिस्टल नाइट क्लबअगाडि भएको कुटपिटको घटनामा मुछिएका थिए। अदालतमा उनीमाथि सार्वजनिक स्थानमा सामूहिक कुटपिटमा सहभागी भई शान्ति सुरक्षा खल्बल्याएको आरोपमा सुनुवाइ हुँदैछ।
स्टोक्सले ट्विटरमा लेखेका छन्,‘दालतको सुनुवाइ नसक्दासम्म मलाई राष्ट्रिय टोलीमा आफ्ना साथीहरुसँगै सामेल हुने अधिकार रहनेछैन।’
तर गत साता मात्रै इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी) को छनोट समितिले भने उनलाई न्युजिल्यान्ड भ्रमणका लागि जाने राष्ट्रिय टोलीको सदस्यका रुपमा छानेको थियो। तर स्टोक्सले भने सो घटनापश्चात् कुनै पनि राष्ट्रिय टोलीबाट कुनै पनि खेल खेलेका छैनन्।
सोही कारण उनले अष्ट्रेलियाविरुद्धको एसेस टेष्ट शृंखला तथा अहिले जारी रहेको ५ खेलको एकदिवसीय शृंखला पनि गुमाएका थिए। गत सेप्टेम्बरमा वेस्ट इन्डिजसँगको खेलपछि राष्ट्रिय टोलीको जर्सीमा मैदानमा नओर्लिएका स्टोक्सलाई इसिबीले गत डिसेम्बरमा न्युजिल्यान्डमा भएको घरेलु क्रिकेटमा भने सामेल हुन अनुमति दिएको थियो।
अदालतको सुनुवाइपछि न्युजिल्यान्डविरुद्ध फेब्रुअरी १८ मा हेमिल्टनमा हुने दोस्रो टिट्वान्टी खेलमा भने उनी सामेल हुन सक्ने बताइएको छ।
टि-ट्वान्टी शृंखलापश्चात् इंग्ल्याण्डले किवी टोलीसँग ५ एकदिवसीय र २ टेस्ट म्याच खेल्नेछ।
उता स्टोक्स तथा घटनामा सामेल भएको भनिएका उनका साथी एलेक्स हेल्सले पनि इसिबीको अनुशासन कमिटीले गर्ने आन्तरिक जाँचको सामना गर्नुपर्नेछ। जबकि अदालतको सम्पूर्ण कानुनी प्रक्रिया सकिएपछि मात्रै उक्त अनुशासन कमिटीले छानबिन थाल्ने बताइएको छ।
तर इंग्लिस टोलीका मुख्य प्रशिक्षक ट्रेभोर बेलिसले भने, ‘उनी टोलीका निकै लोकप्रिय खेलाडी हुन्। मलाई विश्वास छ उनलाई हामी छिट्टै न्यानो स्वागत गर्नेछौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।