वेल्स- अंकतालिकाको अन्तिम स्थानमा रहेको स्वान्सी सिटीले चौथोँ स्थानको लिभरपुलमाथि नाटकीय जित निकालेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति घरेलु मैदान लिवर्टी स्टेडियमलाई बलियो मानिएको लिभरपुललाई सिटीले १–० गोल अन्तरले पराजित गरेको हो।
रेलिगेसन जोनबाट उम्किन प्रयासरत सिटीको जितका लागि खेलको ४० मिनेटमा अल्फी माओसनले गरेको गोल नै निर्णायक बन्यो। यो गोलसँगै माओसन जारी सिजनमा स्वान्सीको तर्फबाट लिवर्टी स्टेडियममा एकभन्दा भन्दा बढी गोल गर्ने टमी अब्राहम (३ गोल) पछि दोस्रो खेलाडी बनेका छन्।
उता हारसँगै लिभरपुलको पछिल्ला १८ खेलको अपराजित यात्रा पनि टुंगिएको छ। खेल अवधिभर ७२ प्रतिशत समय आफ्नो पक्षमा बल रहँदा पनि उसले सिटीको पोष्टमा बल छिराउन सकेन।
गोल गर्ने धेरै मौका पाए पनि कमजोर फिनिसिङ, घरेलु टोलीको बलियो रक्षापंक्ति तथा सिटीका गोलकिपर लुकास फावियान्स्कीको सुदृढ प्रदर्शनले लिभरपुलले हार बेहोपर्यो।
यसअघि लिभरपुल गत सिजनमा पनि स्वान्सी सिटीसँग पराजित भएको थियो। सन् २०१४–१५ को सिजनदेखि अंक तालिकाको अन्तिम स्थानको टोलीले शीर्ष ४ मा रहेको कुनै पनि टोलीलाई हराएको यो तेस्रो घटना हो। यसअघि जारी सिजनमा क्रिष्टल प्यालेसले चेल्सीलाई र गत सिजनमा स्वान्सीले लिभरपुललाई नै स्तब्ध बनाएका थिए।
यो सँगै प्रिमियर लिगमा लिभरपुल स्वान्सीसँग तेस्रो पटक पराजित भएको छ।
कार्लोस कार्भालहलले टोली सम्हालेयता पछिल्लो ६ खेलमा स्वान्सीले पहिलो जित गर्न सफल भएको हो। उता गत २२ अक्टोबरमा टोटनह्याम हट्सपरसँग ४–१ ले नतिजा सुम्पिएपछि लिभरपुल पहिलो पटक पराजित भएको छ।
गत साता लिग लिडर म्यान्चेष्टर सिटीविरुद्ध ४–३ को सनसनी जित निकालेको लिभरपुल अन्तिम टोलिसँग पराजित हुनुलाई फुटबल वृत्तमा असामान्य रुपमा हेरिएको छ।
जितपछि स्वान्सी मेनेजर कार्भालहलले भने, ‘आफूले लिभरपुल बलियो टोली हो भनेर पहिले नै खेलाडीहरुलाई स्पष्ट पारेको थिएँ। जसले सुरुवाती ४ खेलबाट ७ अंक हात पार्दै यो सिजनमा राम्रो सुरुवात गरेको थियो।’
निकै प्रतीकात्मक ढंगबाट टिप्पणी गर्दै उनले लिभरपुललाई ‘फर्मुला १ कार’को संज्ञा दिए। उनले थपे, ‘तर लण्डनमा दिनको ४ बजे त्यो गतिमा चल्न असम्भव थियो। उनीहरु हुनै पनि हालतमा अन्य कार बराबर नै चल्नुपर्थ्यो। तर हामी स्पष्ट थियौँ कि उनीहरुलाई हाम्रो गल्लीमा चल्न खुल्ला सडक दिनेछैनौँ।’
लज्जास्पद हारपछि लिभरपुलका म्यानेजर जर्गेन क्लोपले खेलको नतिजाभन्दा पनि आफू खेलाडीको प्रदर्शनबाट निराश बनेको टिप्पणी गरे। उनले भने, ‘हामीले ठाउँ नदिईकन स्वान्सीले जित्ने सम्भावना थिएन। जो उसले चाहेको थियो, हामीले उनीहरुकै हितमा बाटो बनाइदियौं।’
यो खेलसँगै लिभरपुल २४ खेलबाट ४७ अंकका साथ चौथोँ स्थान तथा स्वान्सी सिटी समान खेलबाट २० अंक मात्रै बटुल्दै तालिकाको पुछारमा यथावत् छ।
लिगको २४औँ चरणको खेल अन्त्यसँगै तालिकाको शीर्ष स्थानमा म्यान्चेस्टर सिटी रहँदा म्यान्चेस्टर युनाइटेड दोस्रो तथा चेल्सी तेस्रो स्थानमा कायम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।