एपीएफ टोलीद्वारा १५ केजी चाँदीसहित एक पक्राउ

नेपाल लाइभ | २०७६ श्रावण २० सोमबार | Monday, August 05, 2019 २१:१२:०० मा प्रकाशित

महोत्तरी- महोत्तरी जिल्लाको मट्टिहानी नगरपालिका-८ तुल्सीमाई भन्ने स्थानबाट साउन २० गते एपीएफ टोलीले १० लाख ३५ हजार २ सय ३६ रुपैयाँ बराबरको १५ केजी दानादार चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टि मसुरनिया गाउँपालिका २ बस्ने ३२ वर्षीय बिरेन्द्र महतो छन्।

बी.आर. ३२ एन ०६८९ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका निज महत्तोलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मट्टिहानीबाट सशस्त्र प्रहरी निरीक्षक सुवासचन्द्र मैनालीको कमाण्डमा खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

एपीएफ टोलीले त्यसवेला निज महतोले प्रयोग गरेको सो मोटरसाइकल समेत बरामद गरेको छ।