राजविराज– माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएपछि सिरहा, सप्तरी लगायत जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु अन्यौलमा छन्।
संघीय व्यवस्था अनुसार शिक्षा सञ्चालनको जिम्मा स्थानीय तह र परीक्षा सञ्चालनको जिम्मा परीक्षा बोर्डलाई दिएपछि दुबैका बीचमा कसरी सहकार्य गरेर अघि बढ्ने भन्नेमा अन्यौल भएको हो।
यही अन्यौलबीच राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले स्थानीय तह र परीक्षा बोर्डलाई एक–आपसमा जोड्न जिल्लामा छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने बताएका छन्। परीक्षा बोर्डले सिरहाको लहानमा आयोजना गरेको अन्तरक्रियामा पौडेलले यस्तो बताएका हुन्।
अध्यक्ष पौडेलले दुबैलाई एक आपसमा जोड्न तत्कालका लागि अस्थायी प्रकृतिको भए पनि छुट्टै संयन्त्रको आवश्यकता रहेको बताए।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा परीक्षा सञ्चालन संयन्त्र बनाउने जानकारी दिँदै उनले उक्त समितिमा रहेर शिक्षा प्रणालीलाई व्यवस्थित बनाउन उनले स्थानीय तहका प्रमुख र उपप्रमुखहरुलाई आग्रह पनि गरेका छन्।
परीक्षा सञ्चालन प्रणालीका विषय छलफलकै क्रममा रहेको बताउँदै उनले केन्द्रीय पाठ्यक्रमभित्र रहेर स्थानीय सरकार र प्रादेशिक सरकारबीच एकरुपता कायम हुनेगरी पाठ्यक्रम बनाउनुपर्ने बताए। कार्यक्रममा सिरहाका ८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी लगायतको सहभागिता थियो।
अधिकांश जनप्रतिनिधिले आगामी चैत महिनापछि जिल्ला शिक्षा कार्यालयहरु खारेज भएपछि स्थानीय तह र परीक्षा बोर्डको बीचमा समन्वय गर्ने संयन्त्रको व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए।
‘शिक्षा सञ्चालन र परिक्षा सञ्चालनको जिम्मा फरक–फरक निकायलाई दिएपछि ति दुबैको बीचमा कसले समन्वय गरिदिने ?’, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले भने, ‘पाठ्यक्रम निर्धारण गर्दा कसको सल्लाह लिने भन्नेमा हामी अहिलेले पनि अन्यौलमै छौं।’
चैतमा हुने एसईई परीक्षाअघि नै अहिलेको अन्यौल अन्त्य गर्नुपर्ने गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले माग गरे।
‘पाठ्यक्रम कसरी तयार गर्ने, जनशक्तिहरु कसरी परिचालन गर्नेमा भन्नेमा पनि स्थानीय तहका प्रमुख र उपप्रमुखहरु अनभिज्ञ छन्’ उनले भने, ‘यिनै अन्यौलताका कारण हालसम्म शिक्षकहरुको तलब खुवाउने बाहेक कुनै काम अघि बढ्न सकेको छैन, यसलाई चाँडो व्यवस्थापन गर्न जरुरी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।