काठमाडौं- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले केही दिनभित्रै आफ्नो मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने घोषणा गरेका छन्।
मन्त्री भट्टराईले संसद र संसदीय समितिले दिएका निर्देशन पूर्ण पालना गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे।
आइतबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री भएपछि पहिलो पटक उपस्थित भएका उनले विमान खरिद सम्बन्धमा संसदीय समितिले विगतमा दिएका निर्देशनहरु पालना गरेर अघि बढ्ने योजना पनि सार्वजनिक गरे।
उनले आफ्ना सबै कामकारबाही पारदर्शी ढंगले अघि बढाउने अठोट पनि गरे। मन्त्री भट्टराईले आफ्नो मन्त्रालयमा राजनीतिक आस्थाका आधारमा कसैप्रति पूर्वाग्रह राख्ने अवस्था आउन नदिने पनि जिकिर गरे।
बैठकमा समितिका सदस्यहरुले विमान खरिद प्रककरणमा देखिएका सबै समस्या समाधान गरेर अघि बढ्न मन्त्री भट्टराईलाई सुझाव दिएका थिए। समितिका सदस्य एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमान खरिद प्रकरणमा देखिएका समस्या समाधान गर्दै आगामी दिनमा त्यस्ता समस्या आउन नदिने गरी काम गर्न मन्त्री भट्टराईलाई सुझाव दिए।
उनले जनताको भावनामा चोट नपुर्याउने गरी सांस्कृतिक क्षेत्रको विकासमा लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए।
समितिका अर्का सदस्य अग्नीप्रसाद सापकोटाले नेपाल एयरलाइन्सलाई सरकार आफैंले सञ्चालन गरेर नेपालको हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाउन मन्त्री भट्टराईलाई आग्रह गरे।
त्यसैगरी समितिकै सदस्य पुष्पा भुसालले हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाएर मुलुकको पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाउन मन्त्री भट्टराईलाई सफलता मिल्ने विश्वास व्यक्त गरिन्।
समितिका सदस्यहरुले मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि निर्माणाधीन विमानस्थलहरुको निर्माणको कामलाई पनि समयमै पूरा गर्ने विश्वास पनि व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।