इंग्ल्यान्ड - डेभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि टोटनह्याम हट्सपरले अंक तालिकाको चौथोँ स्थानमा उक्लिने मौका गुमाएको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा साथह्याम्पटनसँग १–१ गोलको बराबरी खेलेपछि टोटनह्यामले चौथोँ स्थानमा रहेको लिभरपुललाई उछिन्ने मौका गुमाएको हो।
घरेलु मैदान सेन्ट मेरीजमा खेल सुरु भएको १५ मिनेटमा नै साउथह्याम्पटनले गोलको अग्रता लियो। साउथह्याम्पटनका रायन बरट्रान्डको छोटो पास टोटनह्यामका डिफेन्डर सान्चेजको खुट्टामा लागेर डाइभर्ट हुदाँ आफ्नै गोलपोष्ट भीत्र बल छिरेको थियो।

साउथह्याम्पटनका लागि सो फाइदा ४ मिनेट पनि टिकेन। खेलको १८ मिनेटमा टोटनह्यामका बेन डेभिसले प्रहार गरेको कर्नर किकलाई हेडमार्फत ह्यारी केनले सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफको अन्तिम समयमा ज्याक स्टेफेन्सले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा साउथह्याम्पटन अग्रता लिनबाट चुक्यो।
खेलमा केहि सुस्त देखिएको टोटनह्यामका लागि खेल सकिन ६ मिनेट मात्रै बाँकि रहँदा गोल गर्ने एरिक लामेलाको प्रहार सफल हुन सकेन। लामेलाको शक्तिशाली प्रहारलाई आफ्नो अघिल्लो त्रुटीलाई सच्चाउँदै स्टेफेन्सले विफल पारिदिए।
१७ वर्षिय आइरिस खेलाडी मेचेल ओवाफेमीले आफ्नो डेब्यु खेलमा नै गोल गर्नबाट चुके। साउथह्याम्पटनबाट पहिलो खेल खेलीरहेका ओवाफेमीले डुसान टाडिकको पासलाई गोलको दिशा दिन नसक्दा साउथह्याम्पटनले खेल जीत्ने अवसर गुमायो।

टोटनह्यामले लगातार ११ खेलमा जीत हात पार्न सकेको छैन। प्रिमियर लिगको जारी सिजनअन्तर्गत गत २६ नोभेम्बरमा एभरटनमाथि निकालेको ४–१ को विजय नै उसको पछिल्लो जीत हो। एउटै सिजनको यती धेरै खेलमा टोटनह्यामले जीत हात पार्न नसकेको सन् १९९८ पछि यो पहिलो पटक हो।
यो बराबरीसँगै टोटनह्यामको २४ खेलबाट ४५ अंक भएको छ। आज हुने खेलमा लिभरपुलले स्वान्सी सिटीलाई पराजित गरेमा टोटनह्यामसँगको अंकदुरी ५ पुग्नेछ। रेलिगेसन जोनबाट माथि उक्लिन प्रयास गरिरहेको साउथ्ह्याम्प्टन २४ खेलमा २२ अंक बटुल्दै तालिकाको पुछारबाट तेस्रो स्थानमा छ।

अंक तालिकामा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड समान २४ खेलबाट क्रमशः ६५ र ५३ अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन्। ५० अंक जोडेको चेल्सी तेस्रो तथा लिभरपुल ४७ अंकका साथमा चौथोँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।