काठमाडौँ - खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ ।
यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष विनयविक्रम थापाले जानकारी दिए।
इएनटीद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न २० टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
सहभागी टोलीले सन् २०१५ देखि राष्ट्रिय टोलीमा आवद्ध चार खेलाडी राख्न पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । तर खेलका दौरानमा भने तीन खेलाडी मात्र खेल्न पाउनेछन् ।
प्रतियोगिताका विजेताले तीन लाख तथा उपविजेताले एक लाख रुपैयाँ हात पार्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट बलर तथा ब्याट्सम्यानलाई जनही दश हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।