सिड्नी- अस्ट्रेलिया विरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा पनि विजयी हुँदै इंग्ल्यान्डले शृंखलामाथि कब्जा गरेको छ। आइतबार सिड्नी क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियालाई १६ रनले पराजित गर्दै इंग्ल्यान्डले टेस्ट शृंखलामा पाएको हारको बदला लिएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा जोस बट्लरको अविजित १ सय तथा क्रिस ओएक्सले पनि आउट नभई बनाएको ५३ रनको मद्दतमा ३ सय २ रनको योगफल तयार पारेको थियो।
१ सय ८९ रनमा आफ्ना ६ विकेट गुमाइसकेको अवस्थामा बट्लर र ओएक्सले खेल सम्हाल्दै अविजित १ सय १३ रनको महत्वपूर्ण साझेदारी गर्दै इंग्ल्यान्डलाई उकासेका थिए।
अस्ट्रेलियाका लागि जोस ह्याजलवुडले सर्वाधिक २ तथा प्याट क्युमिन्स, मार्कस स्टोइनीस, एडम जाम्पा तथा मिचेल मार्सले समान १/१ विकेट हात पारे।
३ सय ३ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको अस्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन। २४ रनको अवस्थामा प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरलाई गुमाएको अस्ट्रेलियाको ४४ रन हुँदा क्यामरुन ह्वाइट पनि पेवेलियन फर्किए। आउट हुनुभन्दा अघि वार्नरले ८ र ह्वाइटले १७ रन बनाए।
तर तेस्रो विकेटका लागि प्रारम्भिक ब्याट्सम्यान एरोन फिन्च र स्टेभेन स्मिथले ६९ रनको साझेदारी गर्दै टोलीलाई उकास्न प्रयास गरे। फिन्चले ६२ रन बनाएर आउट भए। कप्तान स्मिथले ४५ रन बनाएर आउट हुनुअघि मिचेल मार्ससँग ६८ रनको साझेदारी गरेका थिए। अर्धसतक प्रहार गरेका मार्सले ५५ रन बनाए।
मार्कस स्टोइनस्ले खेलको अन्तिम समयतिर ४३ बलमा ५५ रन बनाएर अस्ट्रेलियाका लागि जितको आशा देखाए पनि त्यो पर्याप्त हुन सकेन।
इंग्ल्यान्डका लागि मार्क उड, अदिल रसिद र क्रिस वेक्सले समान २/२ विकेट लिए। यो जितसँगै ५ म्याचको शृंखलामा इंग्ल्यान्ड ३–० ले अगाडि छ।
यी दुईबीचको चौथो एकदिवसीय खेल एडिलेड ओभल मैदानमा आगामी शुक्रबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।