काठमाडौं– आइतबार प्रतिनिधिसभाको अन्तराष्ट्रिय समितिले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बधाइ तथा शुभकामना दिने कार्यक्रम थियो। समितिको सदस्यका हैसियतले बैठकमा नेकपाका वरिष्ठ नेता माधव नेपाल पनि उपस्थित थिए।
बधाइ तथा शुभकामना प्राप्त गरेपछि सम्बोधन गर्ने क्रममा नेता नेपाललाई सम्बोधन गर्दै गर्दा योगेश भट्टराई एकाएक रोकिए।
उनी भन्दै थिए, ‘माधव नेपाललाई मैले मेरो अग्रज नेताको रुपमा बुझेको छु। हाम्रो गुरु–चेलाको सम्बन्ध छ।’
त्यसपछि उनको दिमागले स्मृतिका पाना पल्टाइदिएछ। बोलिरहेका योगेश एकाएक रोकिए। हातमा लिइरहेका कागजतर्फ घोरिए। आँखा रसाइसकेछन्। एकछिन वाक्य फुटेन। यताउति हेरे। अनि दिमागमा सल्बलाइरहेको पुरानो घटना नसुनाइ रहन सकेनन्।
भावुकताले बनाएको असहजपनलाई सहज बनाउने प्रयास गर्दै उनी घटना बताउन थाले। ‘२०४० मा पञ्चायतविरोधी गतिविधिमा मलाई पार्टीले खटाएको थियो। रातदिन नभनी, खाइनखाई खटिएछ। त्यसैको असरले होला, म निकै बिरामी परें। शिक्षण अस्पतालमा ६० दिन बसें। डाक्टरले आशा मारिसकेका थिए।’
उनको गला फेरि अवरुद्ध भयो। आँखा रसाएछन्। एकछिन बोल्न सकेनन्। फेरि घटनाक्रलाई निरन्तरता दिन खोजे, ‘उहाँ भेट्न आउनुभयो। माधव नेपालको होइन, अर्को कुनै नाममा। जब उहाँले मलाई स्पर्श गर्नुभयो, मलाई जीवनप्रति आशा पलायो। सायद त्यो बाँच्ने आधार थियो।’
यति बोलिसक्दा योगेशको गला अवरुध्द गर्न खोज्दै थियो। उता माधव नेपाल आफ्नो दुवै हात आँखा नजिक लिए। एकछिन त्यसै रोकिए। त्यसपछि चस्मा झिकेर टिस्यु पेपरले पुछेर माइक्रोफोनको मुनि राखे। यो क्रम एक/दुईपल्टमै रोकिएन। आधा घन्टा योगेश बोल्दा माधवको अनुहारमा भावुकताका कायम देखिन्थ्यो।
बोल्नुअघि सम्बोधन गर्ने क्रममा योगेशले नेता नेपालसँगका मात्रै होइन, समितिका अरु सदस्यसँगका आफ्ना स्मरणीय क्षण सुनाए। समितिका सदस्य सांसदसँग आफ्ना निकटता दर्शाए।
आफू संसदीय समितिको निर्देशन शिरोपर गर्ने कुरालाई उनले पटक–पटक दोहोर्याए। आफ्नो कार्यकालमा पटक–पटक समितिसँग छलफल गर्ने प्रतिवद्धता जनाए।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।