धनगढी- कैलालीमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थाहरुका अनुसार यहाँ बालविवाहको समस्या बढ्दै गएको देखिएको छ। बालविवाहका रूपमा प्रत्यक्ष मुद्दा दर्ता गर्नेभन्दा पनि अप्रत्यक्ष रूपबाट मुद्दा दायर गर्ने प्रवृत्ति रहेको बालबालिकाको क्षेत्रमा क्रियाशील सिविन नेपालका सुदूरपश्चिम संयोजक माधव लोहनीले बताए।
'बालविवाह अन्तर्जातीय छ भने त्यसलाई बलात्कार तथा मानव बेचबिखनको मुद्दाका रूपमा दर्ता गर्ने गराउने प्रवृत्ति छ,' उनले भने, 'मिल्ने जातमा बालविवाह भए पनि प्रहरी प्रशासनमा मुद्दा दर्ता नहुँदै बालिका र बालक पक्षका अभिभावकलाई प्रहरी कार्यालयमा बोलाएर मिलापत्र गरे पठाउने प्रवृत्ति छ। कैलालीमा बालविवाह मौलाउनुको कारण नै यही हो।'
विभिन्न संघसंस्थाको तथ्यांक अनुसार कैलालीमा बालविवाह र बलात्कारका घटना बढ्दै गएका छन्। दलित महिला अधिकार मञ्च नामक संस्थाका अनुसार ३ वटा बलात्कार र एउटा बाल विवाहको घटना दर्ता भएको छ।
६ महिनाको अवधिमा कैलालीमा बालअधिकार हननका १२ वटा मुद्दा दर्ता भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालयको मानवअधिकार स्थितिसूचक अनुसार सन् २०१७ को ६ महिनाको यो तथ्यांक हो।
त्यस्तै, सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन (१०९८) मा बालअधिकार हननसम्बन्धी ११ वटा घटना दर्ता भएका छन् । त्यस्तै, माइती नेपालमा ८ वटा मुद्दा परेका छन् ।
बालबालिका तथा महिला विकास कार्यालयको सिफरिस गरी पठाउने प्रणाली अनुसार टिकापुरमा ४ वटा बलात्कारका घटना दर्ता भएका छन्। ओरेक नेपाल कैलालीमा बलात्कार र बालविवाहका ११ वटा घटना दर्ता भएका छन्।
बाल हेल्पलाइनका अनुसार जिल्लामा बालश्रममा सबैभन्दा बढी घरेलु कामदार रहेका छन्। त्यस्तै, होटल, यातायात, उद्योग र ग्यारेजमा काम गर्ने बालबालिकाको संख्या पनि उल्लेख्य छ।
धनगढी उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्टले उपमहानगरपालिकाले बालश्रम, बालबालिका बेचविखन, बालविवाह उन्मुलन र बाल हिंसा न्युनीकरणमा विशेष जोड दिइरहेको बताइन्।
नेपाल सरकारले बालबालिकाको अधिकार संरक्षणका लागि अवलम्बन गरेका रणनीति, बाल हिंसा उन्मुलनका लागि लागू भएका ऐनकानुनको प्रभावकारी कार्यान्वयन गरिने उनको भनाइ छ।
जिल्ला शिक्षा कार्यालयको तथ्यांक अनुसार जिल्लामा अझै ४ प्रतिशत बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।