काठमाडौं– थ्रीस्टारका पूर्व प्रशिक्षक तथा हाल अमेरिकाको किस्टोन एथ्लेटिकका प्रशिक्षक प्रदीप हुमागाईंले इंग्लिस क्लब वेस्ट ह्याममा कोचिङ कोर्स गर्ने भएका छन्।
किस्टोनका अध्यक्ष हिसम शोवेका अनुसार हुमागाईंले लन्डनस्थित वेस्ट ह्यामको अन्तर्राष्ट्रिय एकेडेमीमा ८ फेब्रुअरी देखि १५ फेब्रुअरीसम्म कोचिङ कोर्स गर्नेछन्। किस्टोन वेस्ट ह्यामको एकेडेमी अन्तर्गत रहेको क्लब हो।
कोर्सका दौरान उनले इंग्लिस प्रिमियर लिग अन्तर्गत १० फेब्रुअरीमा वेस्ट ह्याम र वाटफोर्डबीचको खेल प्रत्यक्ष हेर्नेछन्। खेल हेरेपछि उनले खेलको विश्लेषण तथा खेलबारे प्रतिक्रिया दिनु पर्नेछन्।
यसअघि गत कार्तिकमा प्रदीप अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरेको एएफसी 'ए' कोचिङ कोर्षमा उत्कृष्ट बनेका थिए। २० जना पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षकलाई पछि पारेर प्रदीप पहिलो भएका थिए।
प्रदीपले सन् २०१२–१३ को 'ए' डिभिजन लिगमा थ्री स्टार क्लबलाई लिग जिताएका थिए। पहिलो पटक 'ए' डिभिजन क्लब सम्हालेकै वर्ष थ्री स्टारलाई लिग च्याम्पियन बनाएपछि उनी उत्कृष्ट प्रशिक्षक समेत बन्न सफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।