काठमाडौं- पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको भनी बरामद गरिएको बन्दुकबाट गोली प्रहार नभएको पुष्टि भएको छ। गोली प्रहार भएको आशंकामा प्रहरीले पूर्वइन्जिनियर शुभाकर खनालको दुई थान लाइसेन्स प्राप्त बन्दुक बरामद गरेको थियो।
उक्त हतियारबाट गोली चलेको हुनसक्ने भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार शुभाकरलाई पनि सोधपुछ गरेर छाडेको थियो। सो हतियारबाट गोली चलेको हो/होइन जाँच गर्न प्रहरीले आफ्नै केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुसी पठाएको थियो।
तर, ब्लास्टिक रिपोर्टमा बरामद दुवै हतियारबाट गोली नचलेको रिपोर्ट आएको अपराध महाशाखाका एसपी केदार ढकालले बताए।
उक्त हतियारबाट गोली नचलेको पुष्टि भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
सोमबार राति साढे ८ बजे विष्णप्रसाद शर्माको घरको दोस्रो तलामा गोली भेटिएको थियो। गोली तारको जाली छेडेर भित्र पसेको भए पनि कुनै मानवीय क्षति भएको थिएन। शर्माकी छोरी पढिरहेको अवस्थामा गोली कोठामा प्रवेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।