काठमाडौं– वैदेशिक रोजगारीको लागि साइप्रस पठाउने भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–३ सितापाइलाकी ४३ वर्षीया पुनम नेपाली छिन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार सितापाइलाबाट पक्राउ गरेको हो।
वैदेशिक रोजगारमा मानिस पठाउने इजाजतपत्रबिना नै नेपालीले आकर्षक वैदेशिक रोजगारको लागि साइप्रस पठाउने भन्दै एक व्यक्तिबाट २०६६ असार २१ गते १० लाख ५० हजार रुपैयाँ लिएकी थिइन्। पछि साइप्रस नपठाएपछि पीडितले वैदेशिक रोजगार कसुरमा मुद्दा हालेका थिए।
वैदेशिक रोजगार न्यायधीकरणको २०६९ असार ३१ को फैसला अनुसार नेपालीलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना र पीडितलाई हर्जना वापत १५ लाख ७५ हजार रुपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो। त्यसपछि उनी फरार हुँदै आएकी थिइन्।
पक्राउ परेकी नेपालीलाई फैसला कार्यान्वनका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।