काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको आज यहाँ उद्घाटन गरेकी छिन्।
मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी गरेकी हुन्।
महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’का रुपमा राष्ट्रिय खेलाडी, राजनीतिक नेता, पत्रकार र कलाकारबीच प्रतियोगिता हुनेछ भने ‘ट्यालेन्ट हन्ट’ प्रतियोगितामा उपत्यकामा रहेका विभिन्न स्कूल, कलेज र युवा खेलाडीबाट करिब ५०० सहभागी रहनेछ ।
यीमध्ये उत्कृष्ट १० जनालाई एक वर्षसम्म विभिन्न एकेडेमीमा निःशुल्क प्रशिक्षण र क्रिकेट सामग्री पनि वितरण गरिने मदन भण्डारी स्पोर्ट क्लब क्रिकेट विभागका महासचिव सुमनराज कार्कीले जानकारी दिए। महोत्सवको दोस्रो दिन क्रिकेटको ‘सम्भावना र चुनौती’ विषयमा सेमिनार आयोजना तथा राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ ।
सो अवसरमा यसै वर्षबाट शुरु गरिएको मदन भण्डारी क्रिकेट सम्मान नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई नगद रु २५ हजारसहित सम्मान गरिएको छ । त्यस्तै क्रिकेट महोत्सवलाई सहयोग गर्ने सुनिल भण्डारीलाई पनि सम्मान गरिएको छ। दुवै सम्मान राष्ट्रपति भण्डारीले प्रदान गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।