विराटनगर– विराटनगरमा जारी १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको महिला एकलतर्फ मेघा श्रेष्ठ र चन्द्रमाया राई फाइनल प्रवेश गरेका छन्।
राखेप च्याम्पियनसिप अन्तर्गत शुक्रबार विराटनगर जुटमिलस्थित कोर्टमा सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलकी मेघाले पश्चिमाञ्चलकी प्रिती बराललाई ४–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरिन्। त्यस्तै मध्यमाञ्चलकी चन्द्रमाया राईले आफ्नै क्षेत्रकी एलिजा रन्जितलाई ४–० कोे सेटले पराजित गरिन्।
बैजनाथपुर रंगशालाको कोर्टमा भएको पुरुष एकलतर्फको खेलमा पश्चिमाञ्चलका नवीन मगर, मध्यपश्चिमाञ्चलका राजकुमार थापा र सुदूरपश्चिमाञ्चलका रोमियो शाही क्वाटरफाइनल प्रवेश गरे। पश्चिमाञ्चलका मगरले एपिएफका सुमन लामालाई ४–१ को सेटले पराजित गरे।
मध्यपश्चिमाञ्चलका थापाले मध्यपश्चिमाञ्चलका गोविन्द नेपाललाई ट्राइब्रेकरमा ७–५ को सेटले हराए। सुदूरपश्चिमाञ्चलका शाहीले एपिएफका आयुशमान घलेलाई ४–२ को सेटले पराजित गरे।
मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशाला र जुटमिलमा रहेको कोर्टमा प्रतियोगिता भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।