ब्रिसबेन– अस्ट्रेलिया विरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा इंग्ल्यान्डले लगातार दोस्रो खेलमा जित हात पारेको छ। शुक्रबार भएको दोस्रो खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको हो।
अस्ट्रेलियाले दिएको २ सय ७१ रनको लक्ष्य इंग्ल्यान्डले ४४.२ ओभरमा ६ विकेटको क्षतिमा पार गर्यो। इंग्ल्यान्डका जोए रुट ४६ रनमा नटआउट रहदा क्रिस ओएक्सले पनि नटआउट ३९ रन जोडे। ओएक्सले २७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै जोनी बिस्ट्रले ६० तथा एलेक्स हल्सले ५७ रन बटुले। जोस बटलरको ४२ रन पनि इंग्ल्यान्डका लागि महत्वपूर्ण साबित भयो।
बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए भने रिचार्डसनले २ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २ सय ७० रन जोड्यो। अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान आरोन फिन्चले शतक प्रहार गरे। उनले १ सय ६ रन जोड्न १ सय १४ बल खेलेर ९ चौका र १ छक्का प्रहार गरे। मिचेल मार्सले ३६ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।
बलिङतर्फ इंग्ल्यान्डका जोए रुट र अदिल रसिदले २–२ विकेट लिए।
यसअघि पहिलो खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।