न्युजिल्यान्ड– न्युजिल्यान्डकी प्रधानमन्त्री जकिन्डा अर्डेर्नले आफू गर्भवती रहेको खुलाएकी छिन्।
आगामि जुन महिनामा परिवारमा नयाँ सदस्य थपिनेमा आफू र श्रीमान् क्लार्क गेफोर्ड आशावादी रहेको उनले ट्विट मार्फत् बताएकी हुन्। उनले आराम गर्न ६ साता बिदा लिने सोच बनाएको जनाएकी छन्।
ट्विटमा लेखिएको छ, ‘सोचेका थियौं कि, वर्ष २०१७ हाम्रा लागि भव्य वर्ष बन्नेछ।’
सो घोषणापछि सामाजिक सञ्जालमा उनका समर्थक तथा शुभचिन्तकले बधाइ तथा शुभकामना दिएका छन्।
३७ वर्षीय अर्डेर्न सन् १८५६ पछि न्युजिल्यान्डमा सबैभन्दा कम उमेरमा निर्वाचित हुने प्रधानमन्त्री हुन्। उनले गत अक्टोबरमा आफ्नो छुट्टै गठबन्धन बनाएर चुनावमा भाग लिएकी थिइन्।
गत सेप्टेम्बरमा भएको निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन सकेको थिएन। अर्डेर्नले नेतृत्व गरेको लेबर पार्टी दोस्रो स्थानमा खुम्चिएपछि अर्को सानो दलका नेता विन्स्टन पिटर्सको समर्थनमा उनी न्युजिल्यान्डको ४०औं प्रधानमन्त्री बनेकी थिइन्।
अर्डेर्नले दिएको बयान भन्दै न्युजिल्यान्ड हेराल्ड पत्रिकाकाको शुक्रबारको अंकमा लेखिएको छ, ‘म बिदामा रहँदा पिटर्स प्रधानमन्त्रीको भूमिकामा रहनुहुन्छ। काम गर्दै गर्दा उहाँ र मबीच निरन्तर सम्पर्क हुनेछ।’

उनले आफू ६ साता बिदामा बस्दा पनि प्रधानमन्त्री कार्यालयमा लगातार सम्पर्कमा रहन कोसिस गर्ने बताएकी छन्।
प्रधानमन्त्री बन्ने निश्चित भएको ६ दिनअघि मात्र आफू गर्भवती भएको थाहा पाएको उनले खुलाइन्।
उनले भनेकी छन्, ‘म धेरै काम गर्ने एक मात्र महिला होइन। काम पनि गर्ने अनि शिशु पनि स्याहार्ने पहिलो महिला पनि होइन। संसारमा यस्ता कैयौं महिला छन्, जो आफ्नो काम र सन्तान जन्माउने कार्यलाई सही ढंगबाट एकैसाथ व्यवस्थापन गरिरहेका छन्।’
उनले थपिन्, ‘घरमा आफ्नो पहिलो सन्तानको स्याहार गर्ने बुबाको भूमिकामा गेफोर्ड रहनेछन्।’

आफ्ना श्रीमान् गेफोर्डका साथमा न्युजिल्यान्डकी प्रधानमन्त्री अर्डेर्न
अर्डेर्नले सो खबर सार्वजनिक गरेपछि न्युजिल्यान्डका पूर्व प्रधानमन्त्रीहरु बधाई दिनेमा अगाडि देखिएका थिए। त्यस्तै अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोल्म टर्नबोलले आफ्नो तथा श्रीमतीका तर्फबाट शुभकामना दिँदै ट्विट गरेका छन्।
गत जुलाइमा अर्डेर्नले लेबर पार्टीको नेतृत्व लिएकी थिइन्। विपक्षी दलको नेता भएको पहिलो दिन नै एक टिभी रिपोर्टरले सोधेको विवादास्पद प्रश्न–‘तपाइँलाई अब आफ्नो करिअर अथवा आफ्नो सन्तानमध्ये एक रोज्ने बेला आएको हो?’ मा उनले भनेकी थिइन्, ‘बच्चालाई चुनेको बेलामा कुनै पनि आमाले यो तय गर्नु पर्दैन कि उनलाई जागिर दिइन्छ या जागिरको अवसर छ अथवा छैन।’
यसअघि सन् १९९० मा पाकिस्तानको प्रधानमन्त्री हुँदा बेनजिर भुट्टो छोरीको आमा बनेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।