काठमाडौं– विष्फोटक पदार्थ र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बझाङ केदारस्युँ गाउँपालिका–३ स्थायी वतन भई तनहुँ बन्दीपुर गाउँपालिका–२ बस्ने ३१ वर्षीय सुजन भन्ने लोकेन्द्र बिक छन्। उनलाई प्रहरीले गत शनिबार पक्राउ गरेको हो।
बिकले २०७४ बैसाख १८ गते राति कास्की पोखरा महानगरपालिका–३ नदीपुर भन्ने स्थानमा पोखरा बस्ने २८ वर्षीय युवराज खतिवडामाथि धारिलो हतियार र रड प्रहार गरेका थिए।
उनीसहित २ वटा मोटरसाइकलमा आएका ४ जनाले रड तथा धारिलो हतियार प्रहार गरी खतिवडालाई घाइते बनाएका थिए।
त्यस्तै २०७४ भदौ २६ गते बिहान पोखरा महानगरपालिका–९ पृथ्वीचोक स्थित सस्तो बजारको गेट नजिक विस्फोटक पदार्थ बिष्फोटन भएको घटनामा पनि उनी संलग्न रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका बिकविरुद्ध विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप लिई कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।