प्योङयाङ- संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायद्वीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायी रूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ।
उत्तर कोरियाली राज्य सञ्चालित पत्रिका मिन्जु जोसनले केही दिन पहिले प्रकाशित एक लेखमा अमेरिकाले आफूले कोरियामा जारी राख्दै आएको ‘कि रिजल्भ’ तथा ‘फोल इगल’ नामक संयुक्त सैन्य अभ्यासलाई यस वर्षदेखि केही समयका लागि रोक्ने योजना बनाएको उल्लेख गरेको थियो।
अमेरिकाको यो भनाइप्रति प्रतिक्रिया जनाउँदै प्योङयाङले भनेको छ,'यो केही होइन, तर अमेरिकी–दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यासलाई लम्ब्याउने सस्तो उपाय हो।'
पत्रिकामा भनिएको छ, 'उत्तर कोरियामा जानिबुझीकन समस्यालाई जेलेर राख्न अमेरिका चाहन्छ। तर, कोरियाली प्रायद्वीपमा शान्तिका लागि संयुक्त सैन्य अभ्यास रोकिनुको विकल्प छैन।'
कोरियाली प्रायद्वीपमा तनावको सिर्जना हुनुमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास नै दोषी भएको दाबी उत्तर कोरियाले गर्दै आएको छ।
वासिंटन र सियोल हालै पेयोङच्याङ शीतकालीन ओलम्पिक खेल अवधिभर संयुक्त सैन्य अभ्यास नगर्न सहमत भएका छन्। सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।