उर्लाबारी- मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित भएका छन्।
बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई मात्र दुई मतको अन्तरले पराजित गर्दै लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन्।
धिमालले ८ मत प्राप्त गर्दा गिरीको पक्षमा ६ मत खसेको थियो।
यो विजयसँगै धिमालले जिल्ला फुटबल संघमा ह्याट्रिक गरेका छन् । उनी २०६४ सालदेखि जिल्ला फुटबल संघको अध्यक्ष छन्। फुटबल संघको उपाध्यक्षमा दीपेन्द्र तिवारी, माधवराज भण्डारी र धनकुमार लामा निर्वाचित भएका छन्।
महिला सदस्यमा कौशिला लिम्बू निर्वाचित हुँदा सदस्यमा उद्धवकुमार भुजेल, ओमप्रकाश मास्के, इन्द्रमणि पोखरेल, प्रेम तामाङ, खड्गबहादुर श्रेष्ठ, नगेन्द्र घिसिङ, माधवप्रसाद लिम्बू र तेजराज गिरी चुनिएका छन्।
मोरङ जिल्लामा रहेका ए डिभिजनका १४ वटा फुटबल क्लबका १४ जना प्रतिनिधि नयाँ नेतृत्व चयनमा सहभागी भएका थिए।
२०५२ सालमा स्थापित संघको नेतृत्व यसअघि सन्तोष बानियाँ, प्रदीप भगत र किशोर तिम्सिनाले गरेका थिए। बानियाँले दुई कार्यकाल नेतृत्व गर्दा भगत र तिम्सिनाले एक/एक कार्यकालको नेतृत्व सम्हालेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।