भर्जिनिया- पप गायक ओम विक्रम विष्टलाई उपचार सहयोग जुटाउन इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास) ले शनिबार भर्जिनियामा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।
दुवै मिर्गौला बिग्रेका विष्ट अमेरिकाको न्युयोर्कमा उपचाररत छन्। अस्पतालमा डाइलाइसिस गराइरहेका उनको मिर्गौला प्रत्यारोपण गर्न दाताको खोजी भइरहेको छ।
विष्टको सहयोगका लागि हुने कार्यक्रममा विभिन्न नेपाली गायक–गायिका तथा कलाकारहरुले प्रस्तुति दिने इनासका सचिव कृष्ण श्रेष्ठले बताए।
आयोजकका अनुसार, जगदीश समाल, राम श्रेष्ठ लगायत गायक तथा सरोज खनाल, किरण प्रताप केसी, निशा अधिकारी, रिमा विश्वकर्मा लगायतका कलाकारहरुले दर्शकलाई मनोरञ्जन गराउनेछन्।
'म मौनतामा अल्झिरहेको एउटा जीवन', सुन चाँदीभन्दा महँगो यो ज्यानलाई' लगायत चर्चित गीतका गायक विष्टलाई नेपालमा पप गीतको सुरुवात गरेको श्रेय दिइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।