अछाम – ममता विकलाई महिनावारी हुने समय आयो कि कहाँ रात बिताउने भन्ने चिन्ताले सताउन थाल्छ।
साबिकको शिद्धेश्वर गासि वडा नं ३ नौलाकोट गाउँमा छाउगोठ (महिनावारीमा बस्ने छाउगोठ) भत्काइएका छन्, त्यसैले पनि यस्तो बेला कहाँ बस्ने भन्ने ठेगान हुँदैन । कहिले घरको अथारामा, कहिले पाल हालेर आँगनमा सुत्नुपर्ने बाध्यता छ । सुरक्षित तरिकाले घरमै बस्ने भनेर छाउगोठ भत्काइए पनि छाउ भएका बेलाको बसाइ झन् असुरक्षित बन्दै गएको छ । गाउँमा पानीको समस्या भएकाले दैनिक सरसफाइमा पनि समस्या हुने गरेको छ उनको भनाई छ।
ममता कक्षा ९ मा पढ्छिन्। उनलाई छाउ भएका बेला रातभरिको असुरक्षित र अप्ठेरो सुताईले गाह्रो भएका बेला नुहाएर विद्यालय जान ढिलो हुन्छ । उनले भनिन् ,“विद्यालय पुग्न करिब एक घण्टाको बाटो हिँड्नुपर्छ, कहिले ढिलो भएको दिन विद्यालय जाँदिन । महिनामा तीन चार दिन त पढाइ नै छुट्ने गर्छ। ”
कक्षा ९ मै पढ्ने यज्ञ विकको घर नजिकै नयाँ छाउगोठ बनाइएको छ । घरको अगाडि भएकाले पटक पटक देखिने त्यो छाउगोठले उनलाई बेलाबेलामा झस्काउँछ । हावा लागे पनि ढल्ला जस्तै सानो झ्याल, ढोका नभएकाले छाउ हुँदा ढोकामा थाङ्नोको पर्दा हालेर सुत्नुपर्छ । “छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ” ममता भन्छिन्, “के गर्नु प्रत्येक महिनाको चार पाँच दिन त्यो कालसँग बाँच्नका लागि संघर्ष गर्नुपर्छ । घरपरिबारसँग छाउ भएका बेला गोठमा सुत्दिनँ भनेर सधैँ झगडा हुने गर्छ तर जति भने पनि कसैले सुन्ने हैनन्।”
कक्षा ७ मा पढ्दै गरेकी राजकलाको पनि पीडा पनि कम छैन । “रातभरिको जाडो, अनी डरैडरले सुत्नुपर्छ विद्यालय गए पनि पढाइतिर ध्यान हुँदैन । विद्यालय जाने उमेरका किशोरीले छाउ भएका बेला विभिन्न मानसिक तनाव खेप्नुपरेको छ,” – उनले भनिन्।
‘छाउपडी गोठ भत्काउँदैमा समस्याको समाधान हुँदैन, सिधै घरमा गएर बस्ने अवस्था पनि छैन त्यसैले गोठ भत्काएपछिको विकल्प पनि खोजिनुपर्छ,’ पत्रकार कल्पना बोहरा भन्छिन्, ‘गोठ भत्काउनुभन्दा गोठलाई घर बनाउने अभियान सञ्चालन गर्नुपर्छ।’ छाउ भएका बेला घरमा बस्दा अनिष्ट हुनेजस्ता अन्धविश्वासले जरो गाडेका कारणले यो कुप्रथाको अन्त्य गर्न समय लाग्नेमा उनको भनाई छ।
‘पहिलेको तुलनामा अहिले केही परिवर्तन भएको छ । पहिले सात दिनसम्म गोठमा बस्नुपथ्र्यो भने अहिले चार दिनसम्म गोठमा बस्नुपर्छ । परिवार ठूलो, साघुँरो घरको बनावटले गर्दा पनि छाउ भएका बेला घरभित्रै बस्ने अवस्था छैन तर घरभन्दा बाहिरको बसाइ कम्तीमा सुरक्षित हुनुपर्छ’ उनले थपिन्।
यहाँका सबैजसो विद्यालय वरिपरि देवीदेवताका मन्दिर भएकाले कतिपय किशोरी र महिला शिक्षकसमेत विद्यालय नै नजाने गरेको पाइएको छ। गाउँमा विभिन्न संघसंस्थाले सुरक्षित तरिकाले घरमै बस्नुपर्छ भन्दै धमाधम छाउपडी गोठ भत्काए तर अझै पनि महिला तथा किशोरीको ज्यान जाने क्रम रोकिएको छैन।
छाउपडी गोठमुक्त गाविस घोषणा भएका गाविसमा समेत अहिले आएर धमाधम छाउगोठ बन्न थालेका छन्।
जिल्लामा हालसम्म १२ किशोरी तथा महिलाको छाउगोठमै मृत्यु भएको छ। चार वर्षअघि अछामको रिडिकोट–४ की १५ वर्षीया शर्मिला भुलको छाउपडी गोठमै मृत्यु भएपछि गोठ भत्काउने अभियान शुरु गरिएको थियो। त्यसअघि जिल्लाको ढकारी, बारला, पायल, हात्तीकोटलगायत गाविसमा महिलाले छाउगोठमै ज्यान गुमाएको तथ्यांक छ।
अभियानअन्तर्गत हालसम्म अछाममा साविकका ३१ गाविस छाउपडी गोठमुक्त भइसकेका छन् । जिल्लामा महिला तथा बालबालिका कार्यालय, सेभ द चिल्डे«न, सम विकास नेपाल, सेवक नेपाल, वल्ड भिजनलगायतका दर्जनभन्दा बढी सरकारी तथा गैरसरकारी संस्थाले छाउपडी कुप्रथा अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। कुप्रथा अन्त्यका लागि काम गरे पनि प्रत्येक वर्ष जिल्लामा छाउगोठमा महिलाको ज्यान जाने क्रम भने नरोकिएकाले प्रतिफल शून्य जस्तै देखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।