काजकिस्तान– गुडिरहेको बसमा आगो लाग्दा उत्तर पश्चिम काजकिस्तानमा ५२ जनाको जलेर मृत्यु भएको छ। बसबाट हाम फाल्न सफल ५ जनाको भने उद्दारकर्ताले घटनास्थलमा प्राथमिक उपचार गर्न सफल भएको काजकिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ।
घटना बिहीबार स्थानीय समयअनुसार बिहान साढे १० बजे इर्गिज जिल्लाको अक्टोव भन्ने स्थानमा भएको हो। रसियाबाट उज्वेकिस्तानका नागरिक लिएर यात्रुबाहक बस समारा सिमकेन्ट मार्गमा आउँदै गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएको बिबिसीले लेखेको छ।
करिव २ हजार २ सय किमि लामो यो मार्ग विशेषगरी रसियाको निर्माण क्षेत्रमा जाने उज्वेकिस्तानका आप्रवासी कामदारहरुले आवतजावतका लागि प्रयोग गर्ने गर्छन्।
आपतकालीन सेवा मन्त्रालयले बसमा ५५ जना यात्रु र २ जना चालक सवार रहेको जानकारी दिएको छ। मन्त्रालयले भनेको छ,‘५ यात्रुले उपचार सहायता पाएको तर बाँकीको भने मृत्यु भएको छ।’
बसमा के कारणले आगो लाग्यो भन्ने अझैसम्म पुष्टि हुन नसकेको मन्त्रालयले जनाएको छ। उद्दारकर्ताहरुले मृतकका आफन्तलाई सहज होस् भन्न आपतकालीन टेलिफोन हटलाइन सेवा खुला गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।